माओवादी विधान अधिवेशनमा १३ सय प्रतिनिधि सहभागी हुने, प्रतिव्यक्ति एक हजार शुल्क

सफल खबर संवाददाता

आइतबार, २९ पुस २०८०, ११ : २२
माओवादी विधान अधिवेशनमा १३ सय प्रतिनिधि सहभागी हुने, प्रतिव्यक्ति एक हजार शुल्क

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)को प्रथम विधान अधिवेशनमा १३ सय प्रतिनिधि सहभागी हुने भएको छ । शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकले प्रतिनिधिको मापदण्ड तय गर्दै प्रतिनिधिको टुङ्गो लगाएको हो । बैठकले आगामी फागुन (१–३)सम्म काठमाडौँको प्रज्ञाभवन कमलादीमा अधिवेशन गर्ने निर्णय गरेको थियो ।

 

प्रतिनिधिमा केन्द्रीय सदस्य, सल्लाहकार, ज्येष्ठ नागरिक मञ्च, केन्द्रीय आयोगहरू, प्रदेशका पदाधिकारी, ७७ वटै जिल्लाका संयोजक, जनवर्गीय सङ्गठन केन्द्रका प्रमुखहरू सहभागी हुने सचिव गणेश साहले जानकारी दिए । साहका अनुसार अर्को बैठकमा केही फेरबदल पनि हुन सक्ने बताए । ‘१३ सय प्रतिनिधि सहभागी हुने बैठकले निर्णय गरेको छ । प्रतिनिधिको मापदण्ड पनि तोकिएको छ । यसबारे अर्को बैठकमा केही फेरबदल हुन सक्छ’, सचिव साहले भने ।

आर्थिक व्यवस्थापनका लागि प्रत्येक प्रतिनिधिबाट एक हजार उठाउने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । अहिलेसम्म पानी र खाजा पार्टी कोषबाट व्यहोर्ने निर्णय भएको उनले बताए ।

‘आर्थिक व्यवस्थापनका लागि प्रत्येक प्रतिनिधिबाट हजार  रुपैयाँ उठाउने निर्णय भएको छ । खानाको कुरा भएको छैन । खाजा पानी पार्टी कोषबाट व्यहोर्ने निर्णय भएको छ। बाँकी विषयमा फेरी पदाधिकारी बैठक बसेर निर्णय गर्ला’, सचिव उपाध्यायले जानकारी दिए ।

विधान संशोधनका लागि माओवादीले उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा ७ सदस्यीय मस्यौदा समिति गठन गरेको थियो । मस्यौदा समितिमाथि बैठकमा छलफल भएको थियो । २१ दिन छलफलका लागि तल्लो तहसम्म छलफलमा लैजाने भएको छ । पूरक प्रस्तावसहित कार्यदलले एकरुपता दिने तयारी भएको कार्यदल सदस्यसमेत रहेका सचिव साहले बताए । तल्लो तहबाट आएको सुझावसहित मस्यौदामाथि माघ २६ गते बस्ने स्थायी समिति बैठकमा छलफल हुनेछ ।  

प्रतिक्रिया दिनुहोस