सिंगापुरविरुद्धको खेलमा नेपाल ४ विकेटले विजयी

सफल खबर संवाददाता

आइतबार, १७ भदौ २०७५, १३ : ०६
सिंगापुरविरुद्धको खेलमा नेपाल ४ विकेटले विजयी

काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी) एसिया कप छनोटमा सिंगापुरविरुद्धको खेलमा नेपाल ४ विकेटले विजयी भएको छ ।
सिंगापुरले दिएको १५२ रनको लक्ष्य पछ्याएको नेपालले २८।१ ओभरमा पूरा गर्दै सिंगापुरलाई ४ विकेटले पराजित गरेको हो ।

नेपालका ओपनर सुवास खकुरेल र अनिल शाहले पहिलो विकेटका लागि ५६ रनको साझेदारी गर्दै नेपाललाई बलियो सुरुवात दिलाएका थिए । अनिलले ४३ रन र सुवालले १४ रन जोडे ।

कप्तान पारस खड्काले ११ रन रन बटुले भने उपकप्तान ज्ञानेन्द्र मल्लले २९ रन जोडे । अघिल्लो दिन अर्धशतक पुरा गरेका दीपेन्द्र सिंह ऐरीले ३३, सागर पुनले १४ रन बनाए । आरिफ शेख ४ र सोमपाल कामी ० मा अविजित रहे ।

सिंगापुरका अनन्त कृष्ण र सेल्लादोरे विजय कूमारले समान २—२ विकेट लिए । त्यस्तै, कार्थिकेयन सुप्रमुनियम र सरन कुमार स्वामिनाथमले समान १—१ विकेट लिए ।

त्यसअघि कप्तान चेतन सूर्यवंशीले ६० रन जोडेपछि सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५१ रनमा अलआउट भएको थियो । टस जितेर ब्याटिङ रोजेको सिंगापुरका लागि अनिश परामले ३१ रनको योगदान दिए ।
नेपालका लागि  सन्दीप लामिछाने र ललित नारायण राजवंशी समान ३—३ विकेट लिएका थिए । सोमपाल कामीले २ र वसन्त रेग्मीले १ विकेट लिए ।

नेपालले आफ्नो अन्तिम म्याच हङकङविरुद्ध खेल्नेछ । अघिल्ला दुई खेल हारिसकेको र रन रेट पनि कमजोर रहेकोले नेपाल फाइनलमा पुग्ने सम्भावना न्यून छ । यो जितसँगै नेपाल अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस