काठमाडौँ। भारी हिमपातका कारण जर्मनीको म्युनिख विमानस्थलमा हुने करिब ७६० उडानहरू रद्द गरिएका छन् । हिमपातका कारण म्युनिखमा बस, ट्राम र केही रेल सेवाहरू समेत बन्द गरिएको विमानस्थलका प्रवक्तालाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।
जर्मनीको राष्ट्रिय रेलवे कम्पनी ड्युचे बानका अनुसार म्युनिखको केन्द्रीय रेल स्टेसन आगमनका लागि बन्द गरिएको छ भने लामो दूरीका अन्य यातायातका सेवाहरू पनि स्थगन गरिएको छ ।रेल यातायात सोमबारसम्म 'गम्भीर रूपमा प्रभावित' हुने पनि कम्पनीले जनाएको छ । यसबाट ठूलो सङ्ख्यामा यात्रुहरू म्युनिखको मुख्य स्टेशनमा अलपत्र परेको समाचारमा उल्लेख छ ।
शनिबार प्रहरीले म्युनिखका जनतालाई अत्यावश्यक नभएसम्म सवारी साधन प्रयोग नगर्न आग्रह गरेको छ। यसैबीच, दक्षिणी बाभेरियाका केही भागहरूमा मानिसहरूलाई घरबाट बाहिर ननिस्कन भनिएको पनि सीएनएनले जनाएको छ ।
बायर्न म्युनिख र युनियन बर्लिनबीच शनिबार हुने भनिएको फुटबल खेल पनि 'सुरक्षा जोखिम र ट्राफिक अवस्थाका कारण' स्थगित गरिएको बायर्न म्युनिखले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
शनिबार, म्युनिखमा ४४ सेन्टिमिटर हिउँ परेको सीएनएनले जनाएको छ । म्युनिखमा शनिबार ४५ सेन्टिमिटर हिउँ परेको थियो जुन सन् १९३३ पछिको डिसेम्बरको पहिलो रेकर्ड हो। यसअघि २९ डिसेम्बर १९३८ मा ४४ सेन्टिमिटर हिउँ परेको थियो। बाभेरियामा यसपालि १७ वर्षयताकै भारी हिमपात भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ मंसिर २०८०, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जर्मनीको क्रिसमस बजारमा कारको ठक्करबाट दुई जनाको मृत्यु
चक्कु प्रहारको घटनापछि सीमामा कडाइ गर्दैछ जर्मनी
हंगेरीमाथि जर्मनीको शानदार जित
चक्कु प्रहारको घटनामा जर्मनीमा तेस्रो व्यक्ति पक्राउ
जर्मनी युरोकपको क्वाटरफाइनलमा
राष्ट्रपति पौडेलद्वारा जर्मनीमा पूर्वी बर्लिन क्षेत्रको अवलोकन