चक्कु प्रहारको घटनापछि सीमामा कडाइ गर्दैछ जर्मनी

सफल खबर संवाददाता

मंगलबार, २५ भदौ २०८१, १२ : ३३
चक्कु प्रहारको घटनापछि सीमामा कडाइ गर्दैछ जर्मनी

बर्लिन । जर्मनीले सीमाको सुरक्षा व्यवस्था थप कडा पार्ने भएको छ । अगष्टमा सोलिङ्गेन सहरमा चक्कु प्रहारको घटनामा तीन जनाको मृत्यु भएपछि त्यस्ता घटनाहरू रोक्न सीमामा सुरक्षा थप कसिलो पार्न लागिएको हो ।

उक्त घटनाका सन्दिग्ध सिरियाली नागरिक थिए । जर्मनीमा शरण लिने उनको प्रयास असफल भएको र चक्कु प्रहारमा तीन जनाको मृत्यु भएपछि सन्दर्भमा सरकारमाथि अध्यागमन कसिलो पार्न दबाब चुलिएको थियो । सो घटनाको जिम्मा इस्लामिक स्टेट समूहले लिएको थियो ।

१६ सेप्टेम्बर देखि लागू हुने गरी देशका सबै सीमा नाकामा कडाइ गरिनेछ । यो नियम सुरुमा ६ महिनासम्म लागू हुनेछ । अनियमित आप्रवासनविरुद्ध सरकार कडा रूपमा प्रस्तुत हुने जर्मनीकी गृह मन्त्री नेन्सी फेजरले भनेकी छिन् । चेकजाँचमा गरिने कडाइले इस्लामी अतिवादी र सीमा आरपार अपराधमा कटौती हुने उनले बताइन् । यस्ता खतराहरूबाट आफ्ना देशका नागरिकहरूलाई जोगाउन बलले भ्याए सम्म सबै गरिरहेको उनको भनाइ छ ।

जर्मनीले यस अघि नै पोल्यान्ड, चेक गणतन्त्र, स्वीटजरल्यानड र अस्ट्रियासँगको पूर्वी र दक्षिणी सीमाका सडक र रेलमा चेकजाँच कडा पारेको थियो । अब भने सबै सीमा नाकामा यस्तै गरिनेछ । यो मुद्दा सुरक्षा भन्दा पनि राजनीतिक भएको आलोचकहरूले बताइरहेका छन् । देशको पूर्वी हिस्सामा भएको निर्वाचनमा अध्यागमन विरोधी विकल्पलाई एजेन्डा बनाउने दलले राम्रो प्रदर्शन गरेका थिए ।