चक्कु प्रहारको घटनामा जर्मनीमा तेस्रो व्यक्ति पक्राउ

सफल खबर संवाददाता

आइतबार, ०९ भदौ २०८१, ११ : २१
चक्कु प्रहारको घटनामा जर्मनीमा तेस्रो व्यक्ति पक्राउ

बर्लिन । जर्मन प्रहरीले पश्चिम जर्मनीको जोलिङ्गेन सहरमा शनिवार भएको छुरा प्रहारको घटनामा थप एक जनालाई पक्राउ गरेको छ । त्यहाँको एक क्षेत्रीय मन्त्रीले यो जानकारी दिएका हुन् ।

जोलिङ्गेन सहरमा शनिवार भएको छुरा प्रहारको घटनामा तीन जनाको मृत्यु भएको थियो भने अन्य आठ जना घाइते भएका थिए । आफूहरूले भरदिन जुन व्यक्तिको खोजी गरिरहेका थियौँ, ती व्यक्ति पक्राउ परेको नर्थ राइन–वेस्टफालिया राज्यका आन्तरिक मन्त्री हर्बर्ट रुलले भनेका छन् । पक्राउ परेका व्यक्ति मुख्य सन्दिग्ध भएको बताइएको छ । उनले घटनाको थप जानकारी दिएका छैनन् ।

तर त्यहाँको बिल्ड र स्पेइजल जस्ता जर्मन समाचार वेबसाइटले भने सन्दिग्धले आत्मसमर्पण गरेको प्रहरीले बताएको भन्दै समाचार छापेका छन् । सन्दिग्धको लुगाभरि रगत लतपतिएको बताइएको छ । 

जोलिङ्गेन औद्योगिक सहर स्थापना भएको ६५० वर्षको उत्सव मनाउन मानिसहरू जम्मा भएको ठाउँमा आक्रमणकारीले जथाभावी चक्कु प्रहार गरेका थिए । आक्रमणकारीले मान्छेको गला र घाँटीमा निशाना बनाएको थियो ।

चक्कु प्रहारको यस घटनामा ५६ वर्ष र ६७ वर्षका दुई पुरुष र ५६ वर्षिया एक महिलाको मृत्यु भएको थियो । जर्मन चान्सलर ओलाफ स्कोल्ट्जले यसलाई भयानक घटना भनेका छन् ।यो पूरै मामिलामा हालसम्म तीन जना पक्राउ परेका छन् ।

यसअघि आक्रमण भएको स्थान नजिकै रहेको शरणार्थी शिविरबाट प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको थियो । यस सम्पूर्ण मामिलामा सुरुमा पन्ध्र वर्षका केटा पक्राउ परेका थिए । यद्यपि ती किशोर मुख्य सन्दिग्ध नभएको पनि उनलाई आक्रमणबारे थाहा थियो भनेर अधिकारीहरूले बताएका छन् ।

सुरुमा इस्लामिक स्टेटले यस हमलाको जिम्मेवारी लिएको थियो । तर, आक्रमणकारीको इस्लामिक स्टेटसँग कुनै सम्बन्ध छ वा छैन भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन ।