जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–६ सखुवामा रहेको बजारमा छठ पूजाका लागि प्रसाद सामग्रीहरू किन्नेको भिड बिहानैदेखि देखिएको छ ।छठ पूजाको लागि पूजा सामग्री किन्न बजार आएका धनुषा लक्ष्मीनिया गाउँपालिका–३ बनिगामाका जागेश्वर महरा भन्छन्, ‘१५ सय रुपैयाँ लिएर बजार आएको थिए ।
एक हजार सक्यो तर झोला खाली नै छ । पूजा सामग्री आधा जति किन्न बाँकी नै छ ।’ उनले प्रसादका लागि केरासहित छोरीको लागि सामा चकेवा सन्ठी र सिक्की मात्रै किनेका रहेछन् ।यतिबेला बजारमा केराको माग निकै बढेको छ । योसँगै छठ पर्वमा प्रमुख प्रसादका रूपमा प्रयोग हुने केराको मूल्य आकासिएको छ । विगतका वर्षहरूमा ३ सयदेखि सबैभन्दा बढी ८ सयसम्म पाइने केराको घरी अहिले बजारमा सो मूल्यमा भेट्न मुस्किल छ ।
‘१ हजार भन्दा कमको घरी नै छैन बजारमा,’ पूजा सामग्री किन्न आएका धनुषाधाम नगरपालिका-४ का लक्ष्मण मण्डल बताउँछन् । उनका अनुसार विगतको तुलनामा यो वर्ष केराको दाम वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष केराको मूल्य करिब ४० देखि ८० प्रतिशत वृद्धि भएको छ । अहिले एक घरी केराको मूल्य साधरणतया १८ सय रुपैयाँ सम्ममा बिक्री भइरहेको छ ।
स्थानीय किसानहरूले पर्याप्त मात्रामा केराको खेती नगर्नु र छठ पर्वको बेला केराको अत्यधिक मात्रामा बढ्नु नै केराको मूल्य आकासिनुको मुख्य कारण हो । यता बाहिर बजारबाट केरा आयात भएर स्थानीय बजारमा नै खरिद बिक्री हुँदा मूल्य बढेको व्यापारीहरू बताउँछन् । केरा व्यापारी सन्तोष साहका अनुसार बाहिरबाट केरा ल्याउँदा विभिन्न खर्चहरू जोडिएर स्थानीय बजारमा केराको मूल्य बढेको हो ।
बजारमा केराको माग बढेपछि स्थानीय किसानहरूले लगाएको केरा पनि बजारमा ल्याउने क्रम जारी छ । छठ पर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा मात्रै यस वर्ष चार करोडको केरा भारतबाट आयात गरिएको छ ।
छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए । उनका अनुसार केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले कुनै वर्ष पनि पुग्दैन । भारतबाट जनकपुर भित्र्याइएको केराहरु यहाँको स्थानीय बजारमा बिक्री वितरण हुने गरेको छ ।
स्थानीयस्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनु परेको अध्यक्ष यादवको भनाइ छ । उनले गत वर्ष पौने दुई करोडभन्दा बढीको केरा जनकपुरधाममा आयात भएको बताए । उनका अनुसार यस वर्ष झन्डै ७० ट्रक केरा जनकपुरधाममा आयात भएको छ ।
जनकपुरधाममा गोपाल र वंशीभोग जातका केरा सप्तरी जिल्लाको भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ । मालभोग, मिरिचमान, चिनी चम्पा जातका केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट भित्र्याइएको छ।
नेपालको हरेक क्षेत्रमा स्थानीय जातका केरा उत्पादन हुन्छन् । नेपालमा मालभोग, झापाली मालभोग, विलियम हाइब्रिड रोवस्टा, विलियम हाइब्रिडलगायत जातका केरा उत्पादन हुँदै आएको छ । सम्भावना हुँदाहुँदै पनि प्राविधिक समस्याका कारण केराको उत्पादन बढाउन नसकिएको व्यवसायीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ मंसिर २०८०, १६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खेर जाने केराको थम्बाबाट सामग्री उत्पादन
केरा खेतीबाट वार्षिक चार लाख मुनाफा
छठका लागि भारतबाट ५० लाखका केरा आयात
छठका लागि जनकपुरमा भारतबाट पाँच करोडको केरा आयात
तराईमा तिहार : बढ्दो केराका थामको बजार
चितवनमा हावाहुरीले २५ सय बिघा केराखेती सखाप