केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री

सफल खबर संवाददाता

सोमबार, १२ फागुन २०८१, ०९ : २२
केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री बनाउँदै आएको छ । गाउँपालिकाले नवप्रवर्तन साझेदारी कृषि कार्यक्रम अन्तरगत स्थानीय कच्चा स्रोतको व्यापारिक उपयोगितासम्बन्धी परियोजनामार्फत गण्डकी प्रदेशसँगको साझेदारीमा हस्तकलाका सामग्री बनाउँदै आएको हो ।

आव २०७९/८० मा प्रदेशको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा परियोजना सञ्चालनमा आएको हो । रु एक करोड लागत साझेदारी रहेको उक्त परियोजनामार्फत व्यावसायिकता अभिवृद्धिका लागि हस्तकलाका सामग्री बनाउने ४५ दिने तालिम दिएको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले बताए ।

फाइबरका लागि कच्चापदार्थको रूपमा केराको थाम आवश्यक पर्ने भएकाले किसानलाई निःशुल्क केराका बोट उपलब्ध गराएको उनले बताए । ‘फाइबरका लागि केराको थाम आवश्यक पर्छ, यसलाई प्रशोधन गरी डोरी बनाइन्छ,’ उनले भने, ‘४५ दिने तालिम लिएकामध्ये हाल दैनिक ज्यालादारीमा सात महिलाले नियमित रूपमा हस्तकलाका सामग्री बनाउँदै आउनुभएको छ ।’

किसानले लगाएको केराबाट उत्पादन लिइसकेपछि खेर जाने केराको थाम पालिकाले निश्चित शुल्क तिरेर खरिद गरिदिने गरेको उनले बताए । गाउँपालिकाले फाइबरका लागि आवश्यक पर्ने कच्चापदार्थ केराको थाम उत्पादन गर्न पालिकाभित्रका किसानलाई मागका आधारमा बिस हजार केराका बेर्ना निःशुल्क वितरण गरेको थियो । पालिकाले किसानबाट प्रति थाम रु २५ देखि रु४५ सम्ममा खरिद गर्दै आएको छ ।

त्यसै खेर जाने केराको थामलाई प्रशोधन गरी विभिन्न हस्तकलाका सामग्री बनाउँदै आएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए । बाहिरबाट आयात हुने अतिथि सत्कारका सामग्रीलाई निरुत्साहित गर्दै स्थानीय कच्चापदार्थको प्रयोग गरी यहीँ बनाइएका हस्तकलाका सामग्रीको प्रयोगमा जोड दिइएको अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस