तनहुँ । जहाँकहीँ पाउन सकिने केरा खानका लागि उपयोगी फलका रूपमा लिइन्छ । यसको खेर फालिने गरिएका थम्बालाई तनहुँको महिलाले उपयोगी सामग्री उत्पादनसँग जोडेका छन् ।
शुक्लागण्डकी नगरपालिकाका महिलाले खेर गएका केराका थम्बालाई उपयोगी सामग्री बनाई हस्ताकलाको सीप विकास गरेका सामाजिक विकास कार्यालयका प्रमुख विदुरहरि आचार्यले बताए । उनका अनुसार ज्येष्ठ नागरिकमा रहेका सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न तालिम समेत प्रदान गरिँदै आएको छ ।
केराको थम्बाबाट उपयोगी सामान उत्पादन तथा निर्माण गर्न सिकाउने तालिमले खेर गइरहेका स्थानीय कच्चा पदार्थ र समयको सदुपयोग गर्ने उद्देश्यले सीप प्रदान गरिएको प्रमुख आचार्यले बताए । उनले भने, ‘स्थानीय कच्चा पदार्थको उपयोगलाई प्राथमिकता दिएका हौँ, यसले खेर गएका कच्चा पदार्थ उपयोगमा आउनुका साथै सीप विकास तथा पुस्ता हस्तान्तरण हुन्छ ।’
आधारभूत तालिम प्राप्त गर्ने सहभागीको सक्रियताका आधारमा उनीहरूलाई सीपमा दक्ष र व्यावसायिक बनाउन अर्को चरणको तालिम दिइने प्रमुख आचार्यले बताए । यस्ता तालिममार्फत महिलालाई सीपयुक्त र आर्थिक रूपमा सबल बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।
प्रशिक्षक गोमा अम्गाईँले केराको थम्बाबाट रेशा निकाली ढकिया, चकटी, झोलालगायत विभिन्न सामग्री बनाउन सिकाएका थिए । उनले गाउँघरमा प्रशस्त पाइने केराको थम्बाबाट कपडालगायत धेरै किसिमका सामग्री बनाउन सकिने र उपयोगी पनि हुने बताए ।
शुक्लागण्डकी नगरपालिकाका ११ महिलाले केराको थम्बाबाट विभिन्न उपयोगी सामग्री तयार पार्ने हस्तकलाको सीप सिकेका छन् । सीपलाई यहाँका महिलाले उपयोग गर्न सकेमा आर्थिक रूपमा सबल बन्न सहयोग पुग्नेछ । सामाजिक विकास कार्यालयको प्राविधिक सहयोगमा महिला उद्यमी संघ शुक्लागण्डकी एकाइले आयोजना गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ माघ २०८१, ०९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केरा खेतीबाट वार्षिक चार लाख मुनाफा
छठका लागि भारतबाट ५० लाखका केरा आयात
छठका लागि जनकपुरमा भारतबाट पाँच करोडको केरा आयात
तराईमा तिहार : बढ्दो केराका थामको बजार
चितवनमा हावाहुरीले २५ सय बिघा केराखेती सखाप
चितवनका केराले पाउन थाल्यो बजार, किसान उत्साहित