धनुषा। छठपर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा रु पाँच करोडको केरा भारतबाट आयात गरिएको छ । छठपर्वका बर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ । छठमा सिङ्गै केराको घरी भगवान्लाई अर्घका रूपमा चढाउने परम्परा छ ।
छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए ।“केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले पुग्दैन”, उनले भने । स्थानीयस्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनुपरेको अध्यक्ष यादवले बताए । “गत वर्ष रु चार करोडको केरा जनकपुर भित्र्याइएको थियो”, उनले भने, “यस वर्ष झण्डै एक सय ५० ट्रक केरा भित्र्याइएको छ ।
जनकपुरधाममा गोपाल र वंशीभोग जातका केरा सप्तरी जिल्लाको भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ ।मालभोग, मिरिचमान, चिनी चम्पा जातका केरा भारतको आसाम, गुवाहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट आयात गर्ने गरिएको समितिका सचिव भुवनेश्वर पूर्वेले बताए ।
छठपर्वसँगै गत वर्षको तुलनामा यस वर्ष ३५ प्रतिशतले केराको भाउ महँगिएको सचिव पूर्वेले जानकारी दिए ।“छठ मनाउनेको सङ्ख्या प्रत्येक वर्ष वृद्धि भएकाले केराको माग पनि बढेको हो ।
बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष ४०र४५ ट्रक बढी केरा मगाइएको अध्यक्ष यादवले बताए । समितिका अध्यक्ष यादवका अनुसार १० चक्के ट्रकमा एक हजार दुई सय घरी केरा आउँछ । प्रतिट्रक जनकपुरसम्म ल्याउँदाको खर्च रु सात लाख पर्ने उनले बताए । बजारमा प्रत्येक केराको घरीलाई रु एक हजार पाँच सयदेखि तीन हजार पाँचसम्ममा बिक्री गरिन्छ ।
नेपालको हरेक क्षेत्रमा स्थानीय जातका केरा उत्पादन हुन्छन् । नेपालमा मालभोग, झापाली मालभोग, बिलियम हाइब्रिड रोवस्टा, बिलियम हाइब्रिडलगायत जातका केराखेती हुँदै आएको छ । सम्भावना हुँदाहुँदै पनि प्राविधिक समस्याका कारण केराको उत्पादन बढाउन नसकिएको व्यवसायीहरूको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ कार्तिक २०८१, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केराका बोट मर्न थालेपछि कृषक चिन्तित
केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री
खेर जाने केराको थम्बाबाट सामग्री उत्पादन
केरा खेतीबाट वार्षिक चार लाख मुनाफा
छठका लागि भारतबाट ५० लाखका केरा आयात
तराईमा तिहार : बढ्दो केराका थामको बजार