केरा खेतीबाट वार्षिक चार लाख मुनाफा

सफल खबर संवाददाता

आइतबार, १४ पुस २०८१, ०९ : १९
केरा खेतीबाट वार्षिक चार लाख मुनाफा

वालिङ । स्याङ्जाका एक किसानले केराखेतीबाट वार्षिक चार लाख मुनाफा आर्जन गरेका छन् ।  वालिङ नगरपालिका–१ धरमपानीका कृष्णप्रसाद ढुङ्गानाले व्यावसायिक केराखेतीबाट उक्त रकम आर्जन गरेका हुन् । 

सबै खर्च कटाएर एक वर्षमा चार हजार पाँच सय दर्जन काँचो तथा पाकेका केरा बेच्दा त्यति रकम नाफा भएको उनले बताए । “मेरा बारीका केरा स्थानीय व्यापारीले बगैचाबाट नै खरिद गर्छन् ”, उनले भने । स्थानीय बजारमा केराको माग उच्च भए पनि मागअनुसार आपूर्ति हुन सकेको छैन । 

तीन वर्षअघि किसान ढुङ्गानाले व्यावसायिक रूपमा केराखेती थालेका हुन् । व्यावसायिक रूपमा ड्रागन फ्रुटको खेती गर्न जग्गा सम्म्याउने क्रममा पुरुवा माटोमा केरा राम्रो हुन्छ भन्ने थाहा पाएपछि उनले केराखेती प्रारम्भ गरेका थिए । उनको बगैचामा स्थानीय र हाइब्रिड केरा फलेका छन् ।  

उद्यमी ढुङ्गानाले २० रोपनीमा केराखेती गर्दै आएका छन्। बगैचामा झापाली मालभोग, चिनी केरा, पुरानो मालभोग, धुस्रे र स्थानीय मुग्रे गरी पाँच प्रजातिका केरा लगाएका छन् । उनले ४० रोपनीमा ड्रागन फ्रुटको खेती पनि गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस