पाकिस्तानका पूर्व क्रिकेटरले रोहित शर्माको टस गर्ने तरिकामाथि उठाए प्रश्न

सफल खबर संवाददाता

शुक्रबार, ०१ मंसिर २०८०, १० : ४६
पाकिस्तानका पूर्व क्रिकेटरले रोहित शर्माको टस गर्ने तरिकामाथि उठाए प्रश्न

इस्लामाबाद । बुधबार न्यूजिल्याण्डलाई हराएर फाइनलमा प्रवेश गरेको भारतीय टोलीको पाकिस्तानमा अझै चर्चा चलिरहेको छ । पाकिस्तानका पूर्व टेस्ट क्रिकेटर सिकन्दर बख्तले भारतीय टोलीका कप्तान रोहित शर्माको टस गर्ने शैलीमा शंका व्यक्त गरेका छन् ।

पाकिस्तानको जियो न्यूज च्यानलमा बोल्दै सिकन्दर बख्तले भने, ‘उनी (रोहित) सधैं सिक्का पर फ्याँक्छन् र प्रतिद्वन्द्वी टोलीका कप्तान कहिल्यै टसको नतिजा हेर्न जाँदैनन्।’ त्यसपछि च्यानलमा रोहित शर्माको टसका धेरै छोटो क्लिपहरू देखाइन्छ।

यस विवादमा जवाफ दिँदै पूर्व पाकिस्तानी क्रिकेटर वासिम अक्रम, मोइन खान र शोएब मलिकले सिकन्दर बख्तको आशंकालाई पूर्ण रूपमा अस्वीकार गरे। ए स्पोर्ट्स च्यानलसँगको कुराकानीमा वासिम अकरमले भने, ‘सिक्का कहाँ खस्ने भन्ने निर्णय कसले गर्छ ? मलाई लाज लाग्छ। म यसबारे टिप्पणी गर्न पनि चाहन्न।' शोएबले पनि यसबारे चर्चा गर्न पनि नहुने बताएका छन् ।