काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले समयमा विद्युत् महसुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटेको छ । गत १२ कात्तिकबाट विद्युत् महसुल बक्यौता असुलीलाई देशभरि अभियानकै रूपमा चलाइरहेको प्राधिकरणले बिहीबारसम्ममा २६ हजार २ सय ४४ ग्राहकको लाइन काटेको छ । लाइन काटिएका ग्राहकको बक्यौता रकम करिब ६२ करोड रुपैयाँ छ ।
असुलउपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि प्राधिकरणका देशभरिका वितरण केन्द्रहरूले महसुल नतिर्ने ग्राहकहरूको लाइन काटिरहेका छन् । यस अवधिमा सबैभन्दा बढी मधेस प्रदेशमा लाइन काटिएको छ । मधेस प्रादेशिक कार्यालय, जनकपुर मातहतका वितरण केन्द्रहरूले ४ हजार ८ सय ५२ ग्राहकको लाइन काटेका छन् । उक्त ग्राहकको बक्यौता रकम १७ करोड ११ लाख रुपैयाँ रहेको छ ।
कोशी प्रादेशिक कार्यालय, विराटनगर मातहतका वितरण केन्द्रहरूले महसुल नतिर्ने ४ हजार ३ सय ३१ ग्राहकको लाइन काटेका छन् । उक्त ग्राहकहरूको बक्यौता रकम ९ करोड ८१ लाख रुपैयाँ रहेको छ । लुम्बिनी प्रदेश डिभिजन कार्यालय, नेपालगन्ज मातहतका वितरण केन्द्रहरूले ४ हजार १८ ग्राहकको लाइन काटेका छन् । उनीहरूको बक्यौता रकम ३ करोड ८५ लाख रुपैयाँ छ ।
लुम्बिनी प्रादेशिक कार्यालय, बुटवल मातहतका वितरण केन्द्रहरूले ३ हजार ३ सय ५२ ग्राहकको लाइन काटेका छन् । उनीहरूको बक्यौता रकम ७ करोड ८५ लाख रुपैयाँ छ । बागमती प्रादेशिक कार्यालय, काठमाडौँ मातहतको वितरण केन्द्रहरूले २ हजार ७ सय ९३ ग्राहकको लाइन काटेका छन् । बक्यौता रकम ११ करोड ३४ लाख रुपैयाँ छ ।
गण्डकी प्रादेशिक कार्यालय, पोखराले महसुल नतिर्ने २ हजार ७ सय ५५ ग्राहकको लाइन काटेको छ । बक्यौता रकम ४ करोड ६ लाख रुपैयाँ छ । बागमती प्रदेश डिभिजन कार्यालय, हेटौँडा मातहतका वितरण केन्द्रहरूले २ हजार १ सय ७७ ग्राहकको लाइन काटेका छन् । बक्यौता रकम ४ करोड ८२ लाख रुपैयाँ छ ।
सुदूरपश्चिम प्रादेशिक कार्यालय, अत्तरिया मातहतका वितरण केन्द्रहरूले १ हजार ३ सय ४२ ग्राहकको लाइन काटेका छन् । बक्यौता रकम २ करोड २७ लाख रुपैयाँ छ । कर्णाली प्रादेशिक कार्यालय, सुर्खेत मातहतका वितरण केन्द्रहरूले ६ सय २४ ग्राहको लाइन काटेका छन् । बक्यौता रकम ९१ लाख रुपैयाँ छ ।
प्राधिकरणले तिहारपछि बक्यौता असुलीलाई अझै सशक्त बनाउने छ । विद्युत् महसुल सङ्कलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको १६औँ दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औँ दिनदेखि ३०औँ दिनसम्म ५ प्रतिशतका दरले र ३१औँ दिनदेखि ४०औँ दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ । मिटर रिडिङ भएको मितिले ४०औँ दिनसम्म पनि विद्युत् महसुल नबुझाउने उपभोक्तालाई ४१औँ दिनदेखि विलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था छ ।
यसरी २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६०औँ दिनसम्म पनि बक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ । लाइन काटेको ६ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्ताहरूलाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान छ ।
प्राधिकरणले विनियमावलीको यही प्रावधानको आधारमा मिटररिडिङ भएको मितिले ६०औँ दिनसम्म पनि बक्यौता विद्युत् महसुल भुक्तान नगर्ने उपभोक्ताहरूको चरणबद्धरुपमा विद्युत् लाइन काटी बक्यौता महसुल असुलउपर गर्ने रणनीति लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ कार्तिक २०८०, १३ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ढल्केबर सबस्टेसनबाट विद्युत आपूर्ति शुरू
प्रतिकुल मौसमका कारण विद्युत् अवरुद्ध भएको हो, लोडसेडिङ भएको होइनः विद्युत् प्राधिकरण
संसद् बैठक अझै बस्न सकेन
विद्युत् प्राधिकरणको सञ्चालकमा दुई सदस्य नियुक्त
१५ दिनभित्र विद्युतको बक्यौता रकम नउठे प्रक्रिया अनुसार अघि बढ्छौँ : कुलमान घिसिङ
पत्रकार सम्मेलन गर्दै कुलमान घिसिङ