विश्वकप क्रिकेट: भारतसँग पाकिस्तान सात विकेटले पराजित

सफल खबर संवाददाता

आइतबार, २८ असोज २०८०, ०६ : ४१
विश्वकप क्रिकेट: भारतसँग पाकिस्तान सात विकेटले पराजित

काठमाडौं । आईसीसी वान डे विश्वकप अन्तर्गत शनिबार भएको १२ औं खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको छ। 

भारतले पाकिस्तानलाई सात विकेटले पराजित गरेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान ४२.५ ओभरमा जम्मा १९१ रन बनाउँदै अलआउट भएको थियो।

१५५ रन बनाउँदासम्म पाकिस्तानले जम्मा दुई विकेट मात्र गुमाएको थियो। तर त्यसपछि लगातार विकेट गमाउन थालेको पाकिस्तान जसप्रित बुमराह र कुलदीप यादवको बलिङसामू निरिह बन्न पुग्यो। 

१९२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको भारतले ३०.३ ओभरमै लक्ष्य पूरा गर्‍यो। भारतका कप्तान रोहित शर्माले सर्वाधिक ८६ रनको योगदान दिए। 

श्रेयर अय्यरले नटआउट अर्धशतकको पारी खेले। उनले ६२ बलको सामना गर्दै ५३ रन जोडेका हुन्। सुभमन गिल र विराट कोहलीले समान १६/१६ रन जोडे। के एल राहुलले नटआउट १९ रन जोडे। 

पाकिस्तानका लागि ६ ओभर बलिङ गरेका साहिन साह अफ्रिदीले ३६ रन खर्चेर २ तथा हसन अलीले ६ ओभरमा ३४ रन खर्चिँदै एक विकेट लिए।  पाकिस्तानका लागि सर्वाधिक कम्तान बाबर आजमले अर्धशतक बनाए भने मोहम्मद रिजवान ४९ रन बनाउँदै आउट भएका थिए। 

यस्तै इमाम उल–हक ३६, अब्दुल्लाह २० र मोहमम्द नवाजले १२ रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

भारतका लागि सात ओभर बलिङ गरेका जसप्रित बुमराहले १९ रन खर्चिँदै २ विकेट लिँदा मोहम्मद सिराजले ८ ओभरमा ५० रन खर्चिएर दुई लिए। 

६ ओभर बलिङ गरेका हार्दिक पाण्ड्याले पनि ३४ रन खर्चिँदै २ तथा ९ दशमलव ५ ओभरमा ३८ रन खर्चिएर दुई विकेट लिए। कुलदीप यादवले पनि दुई विकेट लिए। तर उनले पूरा १० ओभर बलिङ गर्दै जम्मा ३५ रन मात्र दिएर दुई विकेट लिएका हुन्।