बुटवल। नेकपा एमाले लुम्बिनी प्रदेशको बैठकले आगामी पुसभित्र जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । लुम्बिनीमा १२ जिल्ला छन् । तीमध्ये रूकुम पूर्वमा मंसिरमा र अन्य जिल्लाको पुसभित्र अधिवेशन गर्ने निर्णय भएको केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले जानकारी दिइन् ।
भदौ १६ गते राधाकृष्ण कँडेलको नेतृत्वमा प्रदेश कमिटी चयन भएपछि बिहीवार पहिलो पूर्ण बैठक बसेको हो ।बैठकलाई सम्बोधन गर्दै सचिव अर्यालले अहिलेको कमिटीले आगामी संघ, प्रदेश र स्थानीय तहको चुनाव गराउने र पार्टीको ११ औं महाधिवेशन गराउने भएकाले विशेष जिम्मेवारीका साथ काम गर्नुपर्ने बताइन् ।
उनले अधिवेशनमा भएको प्रतिस्पर्धालाई स्वाभाविक ठानेर त्यसबाट उत्पन्न मनोविज्ञानको अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउनुपर्ने गरी योजना बनाउन निर्देशन दिएकी थिइन् ।‘निर्वाचनका बेला प्रतिस्पर्धा स्वाभाविक हो भन्ने वातावरण गराउने हो, विधानको पूर्ण प्रयोग गर्नुस्’ उनले भनिन्, ‘व्यक्तिलाई केन्द्र मानेर विधान नमिच्नुस् ।
अवैधानिक कमिटी सूचना पाएको अर्को दिन भंग गरिनेछ । हरेकसँग विधान र नियमावलीका दस्तावेज हुनुपर्यो, कमिटीको महत्त्व र जिम्मेवारी नहुँदा चाहियो भन्ने काम गर्दा लैजा भन्ने कुरा अराजकता हो ।’
बैठकले अधिवेशनको समीक्षा गर्दै सचिवालय गठन, विभागीय जिम्मेवारी बाँडफाँट, जनसंगठनको भेला, पार्टी इतिहास लेखन र स्कूल विभाग सञ्चालन तथा कार्यालय व्यवस्थापनका विषयमा टुंगो लगाएको प्रचार विभाग प्रमुख डीआर घिमिरेले बताए ।लुम्बिनीमा सबैभन्दा पहिले अधिवेशन भएकाले जिल्लाहरूको पनि पहिले अधिवेशन सक्नेगरी योजना बनाइएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ असोज २०८०, ११ : २१
लेखकबाट थप