१९ औँ एसियाली खेलकुदमा नेपाल : टेबलटेनिसको पुरुष टिम स्पर्धामा जापानसँग पराजित

सफल खबर संवाददाता

शुक्रबार, ०५ असोज २०८०, ११ : ५०
१९ औँ एसियाली खेलकुदमा नेपाल : टेबलटेनिसको पुरुष टिम स्पर्धामा जापानसँग पराजित

काठमाडौँ । चीनमा जारी १९औं एसियाली खेलकुदको टेबलटेनिसतर्फ पुरुष टिम स्पर्धामा शुक्रबार नेपाल पराजित भएको छ । समूह ‘बी’ अन्तर्गत प्रारम्भिक चरणको खेलमा जापानले नेपाललाई ३—० ले पराजित गरेको हो ।

पहिलो खेलमा जापानका तोमोकाजु हारिमोतोले नेपालका रुविन महर्जनलाई ३—१ सेटले हराए । उक्त खेलमा जापानका हारिमोतो ६—११, ११—२, ११—३ र ११—५ ले विजयी भए । अर्को खेलमा जापानका माहरु योसिमुराले नेपालका संयोग कपालीलाई ३—० सेटले हराए । उक्त खेलमा जापानी खेलाडी योसिमुरा ११—७, ११—३ र ११—७ अंकले विजयी भए । 

 

यसैगरी तेस्रो खेलमा जापानका सुनसुके तोगामीले नेपालका विलास श्रेष्ठलाई ३—० सेटले पराजित गरेका थिए । उक्त खेलमा जापानी खेलाडी ११—६, ११—३ र ११—३ अंकले विजयी भएका थिए ।  यसअघि शुक्रबार नै टेबलटेनिसको महिला टिम स्पर्धामा नेपाल पराजित भएको थियो । महिला टिम स्पर्धाको प्रारम्भिक चरणको खेलमा सिंगापुरले नेपाललाई ३—० ले हराएको थियो । समूह ‘एफ’ को प्रारम्भिक चरणको खेलमा नेपालले लगातार तीनवटा खेलमा पराजय भोगेको थियो । 

पहिलो खेलमा नेपालकी नविता श्रेष्ठ सिंगापुरकी झु जिङ्यीसँग ०—३ सेटले पराजित भएकी थिइन् । सिंगापुरकी खेलाडीले नवितालाई ११—४, ११—३ र ११—४ अंकले पराजित गरेकी थिइन् । दोस्रो खेलमा नेपालकी सिक्का सुवाल पनि सिंगापुरकी प्रतिद्वन्द्वीसँग ०—३ सेटले नै पराजित भएकी थिइन् । सिंगापुरकी जिन जेङले नेपालकी सिक्कालाई ११—२, ११—१ र ११—४ अंकले हराएकी थिइन् । 

यसैगरी तेस्रो खेलमा नेपालकी इभाना थापामगर पनि सिंगापुरकी प्रतिद्वन्द्वीसँग ०—३ सेटले पराजित भएकी थिइन् । सिंगापुरकी रु झिन वङले नेपालकी इभानालाई ११—३, ११—७ र ११—४ अंकले पराजित गरेकी थिइन् । एसियाली खेलकुदमा नेपालको पुरुष भलिबल टोली भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । 

१९ औँ एसियाली खेलकुद प्रतियोगितामा शुक्रबार नै नेपाली महिला फुटबल टोलीले आफ्नो पहिलो खेल भियतनामसँग खेल्दैछ । प्रतियोगितामा नेपाली टोली समूह ‘डी’ मा रहेको छ । नेपालको समूहमा बंगलादेश र जापान पनि छन् । नेपालले आफ्नो दोस्रो खेल सेप्टेम्बर २५ तारिखमा जापानसँग खेल्नेछ । त्यसपछि समूहगत चरणको अन्तिम खेल नेपालले सेप्टेम्बर २८ तारिखमा बंगलादेशसँग खेल्नेछ । 

१९औं एसियाली खेलकुदमा नेपालले फुटबलतर्फ महिला स्पर्धामा मत्र सहभागिता जनाएको छ । नेपालले पुरुष फुटबलमा भाग लिएको छैन । एसियाली खेलकुदको १९ औँ संस्करणको औपचारिक उद्घाटन भने शनिबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस