शिक्षकहरूलाई गगनको अनुरोध – हामी सबैको कुरा सुन्छौं, विद्यालय बन्दको अप्रिय बाटो रोक्नुस्

सफल खबर संवाददाता

विहीबार, ०४ असोज २०८०, १२ : ३९
शिक्षकहरूलाई गगनको अनुरोध – हामी सबैको कुरा सुन्छौं, विद्यालय बन्दको अप्रिय बाटो रोक्नुस्

काठमाडौं।  नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले शिक्षासम्बन्धी विधेयक संसदमा दर्ता मात्रै भएकोले धेरै विषयमा सुधार गर्नुपर्ने पक्षमा आफू भएको बताएका छन् । शिक्षकहरूले विद्यालय बन्द गरी विधेयकका कतिपय प्रावधानको विरोध गर्न काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका बेला थापाले धेरै कुरा समेट्न बाँकी रहेको बताएका हुन्।

 

साथै संसद्‌ले धेरै विषयलाई समेट्ने उनको भनाइ छ । ‘प्रस्तावित विधेयकले सरकारको मनसायको प्रस्ताव मात्र हो । विधेयक अब संसद्‌मा आएको छ । अब हामी विधायकहरूले यसमा काम गर्ने हो र सबैको मनसायको कानून बनाउने हो । हामी सबै सरोकारवालाको कुरा सुन्छौं ।

यो विधेयक ऐन बन्दा यसमा धेरै परिमार्जन संशोधन हुने नै छन्, संशोधन गर्नै पर्ने विषय छन्’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पाँच दशकपछि बन्दै गरेको शिक्षा ऐन, सङ्घीय संविधान बनेपछि त्यस अनुरूप बनाइने शिक्षा ऐनले हाम्रो विद्यालय शिक्षाको सन्दर्भमा अहिले भोगेका समस्या र चुनौतीको सम्बोधन गर्ने मात्रै होइन, यो पाँच दशकको अनुभवबाट सिकेर कम्तीमा अबको दुई दशकको समयलाई दिशा निर्देश गर्न सक्ने गरी परिकल्पना गरेर बनाउनु पर्नेछ ।’

संविधानको कार्यान्वयनसँग जोडिएको यो कानून पहिला नै आउनुपर्ने भन्दै उनले धेरै कमजोरी रहेको पनि बताएका छन् ।‘यो विधेयकमा पहिलो दृष्टिमा नै अनेकन् कमजोरीहरू छन्, भेटिन्छन् । नेपाल शिक्षक महासङ्घ सडक आन्दोलन मै उत्रिएको छ । स्थानीय सरकारहरूले आफ्नो अधिकार क्षेत्रमाथि हस्तक्षेप भएको भनिरहेका छन्’ उनले भनेका छन्, ‘अभिभावक सङ्घजस्ता सरोकारवालाले असन्तुष्टि व्यक्त गरिरहेका छन् । विज्ञहरूबाट पक्ष विपक्षमा भिन्न भिन्न धारणा आइरहेका छन् ।’

ऐनले शिक्षाको गुणस्तर र शिक्षकको पेशागत सम्मानलाई जोड दिनुपर्ने उनको भनाइ छ ।‘यो ऐन बनाउँदा हामीले विद्यार्थी र विद्यार्थीको गुणस्तरीय सिकाईलाई केन्द्रबिन्दुमा राख्नैपर्छ । शिक्षकको पेशालाई सम्मानित र मर्यादित बनाउनुपर्नेछ ।

आज शिक्षा दिइरहेका शिक्षकहरूको न्याय, उत्प्रेरणा र आत्मसम्मानसँगै अब बन्ने शिक्षकका लागि आकर्षण, क्षमता र गुणस्तरको बाटो पनि मजबुत बनाउनुपर्नेछ’ थापाले भनेका छन्, ‘शिक्षक देख्दा विद्यार्थी र समाजले गौरव गर्ने बनाउनु पर्छ भन्नेमा हामी प्रस्ट छौ । यो विधेयकले निजी विद्यालयको नियमन अनि सामुदायिक विद्यालयको समुचित व्यवस्थापन र गुणस्तर अभिवृद्धिका लागि पनि स्पष्ट दिशानिर्देश गर्नुपर्नेछ । यसलाई संविधानको मर्मलाई आत्मसात गर्ने बनाउनु पर्नेछ ।’

आफूहरू शिक्षा र शिक्षकका समस्या समाधान गर्न तयार रहेको भन्दै उनले विद्यालय बन्दको कार्यक्रम फिर्ता लिन पनि आग्रह गरेका छन् । ‘यी लगायत यावत विषयमा हामी घनीभूत छलफल गर्नेछौं । आन्दोलनरत शिक्षक, स्थानीय सरकारलगायतका असहमत पक्ष र चिन्तित अभिभावक एवं विद्यार्थी सबैका जायज माग र चिन्ताको सम्बोधन हुनुपर्छ र त्यसका निम्ति हाम्रो प्रयास र पहलकदमी रहनेछ ।

शिक्षकको न्याय र सम्मान अनि विद्यार्थीको भविष्यलाई केन्द्रमा राखेर कानून बनाउन हामी पूर्ण प्रतिबद्ध छौं र रहनेछौं’ उनले थपेका छन्, ‘अतः संसद्‌मा लिइने हाम्रो पहलकदमीमा विश्वास राखी संसद्‌मा आएको यस विधेयकलाई अगाडि बढाउन र रचनात्मक ढङ्गले समाधानको खोजीका लागि मद्दत गर्न सबै पक्षमा हार्दिक अपिल गर्दछु । साथै यो आवेग भन्दा पनि संवाद गर्ने समय हो । विद्यालय बन्द जस्ता अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप बदल्न शिक्षक महासङ्घ लगायत आन्दोलनरत पक्षलाई आह्वान गर्दछु ।’

प्रतिक्रिया दिनुहोस