काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले रोक लगाउँदा लगाउँदै रात्रिबस सञ्चालन भएको भन्दै यसको छानबिन गर्न माग गरेका छन् ।
मंगलबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सरकारले विपद्को पूर्वतयारीस्वरुप रात्रिबस सञ्चालन नगर्न निर्देशन गरेको भएपनि रात्रिबस सञ्चालन भएको भन्दै यस बारेमा छानबिन गर्नुपर्ने बताएका हुन् ।
सांसद थापाले सरकारको निर्णय विपरीत रात्रिबस सञ्चालन भएको विषयलाई कसै न कसैले जिम्मा लिनुपर्ने बताए । त्यसैगरी नख्खु बाढीमा फसेकाहरूको उद्धार गर्न नसकिएको विषयमा पनि छानबिन गर्नुपर्ने उनले माग गरे । नख्खु बाढीमा फसेकाहरूको समयमै उद्धार गर्न नसक्नुमा कसको दोष हो यस विषयमा छानबिन गरी दोषी उपर कारबाही गर्नुपर्ने उनको भनाई छ ।
उनले भने, ‘नेपाल सरकारको मुख्यसचिवदेखि प्राधिकरणको प्रमुखसम्म, प्रहरीको प्रमुखदेखि अरू जिम्मेवारीमा बसेका मानिसहरू अहिले जुन ठाउँमा बसेर आपत्कालिन अवस्थामा जुन तरिकाले काम गरिरहेको देख्नुपर्ने हो त्यो नदेख्दाखेरी स्वाभाविक रूपमा प्रश्नहरू छन् । बैठकहरू धेरै भए ।
एकपछि अर्को डुप्लिकेशनहरु भएको छ । निर्णयको कार्यान्वयनहरू भएको छैनन् भन्ने गुनासोहरू छन् ।’ सांसद थापाले संघीय सरकार उद्धारमा केन्द्रित हुनुपर्ने र राहत वितरणको काममा स्थानीय सरकारले जिम्मेवारी लिनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ असोज २०८१, १६ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भुटानी शरणार्थी, गिरिबन्धु र बिद्युत महशुलमा सत्यतथ्य छानबिन होस् : गगन थापा