सडकको गुणस्तर मापन गर्दा कमजोरी भए ठेकेदारलाई कारवाही गरिन्छ : मन्त्री महासेठ

सफल खबर संवाददाता

विहीबार, ३१ साउन २०७५, १७ : ५२
सडकको गुणस्तर मापन गर्दा कमजोरी भए ठेकेदारलाई कारवाही गरिन्छ : मन्त्री महासेठ

 

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडकको गुणस्तर मापन गर्न उपकरण खरीद गरी प्रयोगमा ल्याउने तयारी गरेको छ । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधीसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले  कालोपत्र भएका सडकको गुणस्तर मापन गर्न र गुणस्तरमा खेलवाड गर्ने ठेकेदारलाई कारवाही गरि क्षतीपूर्ति भराउनका लागी सडकको गुणस्तर मापन उपकरण खरिद गर्ने प्रक्रियामा अघि बढेको जानकारी दिनुभयो ।
उहाँले मुलुक भरका सडकमध्ये स्थानीय तह, प्रदेश तथा संघ कुनबाट सञ्चालन, मर्मत गर्ने भन्ने छिट्टै निर्णय हुने जानकारी पनि दिनुभयो । उहाँले काठमाडौको सबै सडकका खाल्डाखुल्डी भदौ १२ गतेसम्म पुरिसक्ने भन्दै कलङ्की–नागढुङ्गा, चाबहिल साँखु सडकको पनि स्तरोन्नती हुने बताउनुभयो ।
त्यस्तै उहाँले पाँच वर्षभित्रमा सबै पालिकालाई राष्ट्रिय सडक सञ्जालले जोड्ने लक्ष्य रहेको धारणा पनि राख्नुभयो । त्यस्तै मन्त्री महासेठले अदालतले विकास निर्माणलाई सहयोग नगरेको निष्कर्षमा सरकार पुगेको बताउँदै पुनरावलोकनमार्फत पुरानो फैसाला उल्ट्याइने दाबी गर्नुभयो । त्यस्तै उहाँले बढिमा पाँच बर्षभित्र जनकपुर सिमरा रेलमार्ग सञ्चालन गर्ने दाबी पनि गर्नुभयो ।
बैठकमा सांसद कमला रोकाले विस्तृत कार्ययोजना बनाएर मात्र सडक निर्माण कार्य शुरु गर्न सुझाव दिँदै पहुँचभन्दा आवश्यकताका आधारमा निर्माण गर्नुपर्ने बताउनुभयो ।
सांसद राजेन्द्र लिङदेनले सरकारले सिण्डीकेड हटाएको दाबी गरेपनि जनताले त्यसको अनुभव प्राप्त गर्न नसकेको धारणा राख्नुभयो ।
बैठकले सडक विस्तार र ममर्त गर्दा दिर्घकालीन योजना बनाएर अघि बढ्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ भने काठमाडौंका खाल्डाखुल्डी तत्काल पुर्न पनि निर्देशन दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस