सामूहिक मकै खेतीमा किसान आकर्षित

सफल खबर संवाददाता

बुधबार, २८ फागुन २०८१, १० : २३

ताप्लेजुङ । ताप्लेजुङका किसान सामूहिक खेतीप्रति आकर्षित भएका पाइएको छ। मिक्वाखोला गाउँपालिका-२ का किसानले सूर्यज्योति कृषक समूह गठन गरी सामूहिक मकैखेती थालेका हुन्। १२ परिवारले १४० रोपनीमा मकैखेती गरिरहेका छन्। 

स्थानीय किसान इन्द्रकुमारी तामाङका अनुसार पारम्परिकबाट सामूहिक खेतीतर्फ रूपान्तरण हुँदै गएका किसान आफ्नो इच्छाअनुसार फरक(फरक प्रकारका बालीनाली लगाउने गर्थे। कसैले आलु, कसैले धान, कसैले कोदो वा मकैखेती गर्थे। तर अहिले भने योजनाबद्ध रूपमा सामूहिक खेती गर्ने प्रवृत्ति बढ्दै गएको छ। 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले मकै जोन कार्यक्रमअन्तर्गत चक्लाबन्दी योजनाबाट ५० प्रतिशत अनुदान दिएपछि किसानले सामूहिक मकैखेती थालेका हुन्। कृषक समूहका सचिव दिवाकर बस्नेतका अनुसार  १४० रोपनीमा माटोको गुणस्तर परीक्षण गरेर खेती थालिएको हो। समूहले सामूहिक खेतीका निम्ति १६ लाख रुपैयाँ लगानी गरेको छ। कुल लागतको ५० प्रतिशत किसानले बाँकी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाइले अनुदान प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस