काठमाडौं । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति स्थापना भएयता १० वर्षमा झण्डै १५ अर्ब रुपैयाँ खर्च भएको छ । समितिले यस अवधिमा गरेको खर्च उद्देश्यअनुसारको उपलब्धीबारे समीक्षा हुन थालेको छ ।
२०७१ साल असार २ गते स्थापना भएको समितिले आर्थिक वर्ष २०८०–८१ सम्म १४ अर्ब ९६ करोड खर्च गरेको छ ।
समितिका अनुसार यस अवधिमा वित्तीय प्रगति ८८ दशमलव ९३ र भौतिक प्रगति ९१ दशमलव ८४ प्रतिशत भएको छ । समितिमा मासिक तलब सुविधा लिने ६ पदाधिकारीसहित १२४ जना कर्मचारीको दरबन्दी रहेकामा हाल ८६ जनाको पदपूर्ति रहेको छ ।
समितिले हालसम्म एक हजार ४५९ स्थानमान गल्छी, पहिरो, खहरे नियन्त्रण, १६६ हेक्टर भिरालो कृषि भूमिमा बहुवर्षीय बाली विस्तार गरेको समितिका अध्यक्ष डा. किरण पौडेलले जानकारी दिए । त्यस्तै पाँच हजार २३० हेक्टरमा हरियाली प्रवर्द्धन कार्यक्रम गरेको र दुई करोड ९३ लाख ४९ हजार बिरुवा उत्पादन र वितरणलाई समितिले उपलब्धि मानेको छ ।
ललितपुरमा केन्द्रीय कार्यालय रहेको समितिले मुलुकभर सलकपुर, जनकपुर, चितवन, बुटवल र लम्कीमा कार्यक्रम कार्यान्वयन इकाई स्थापना गरी काम गर्दै आएको जनाएको छ ।
चुरे क्षेत्र सात प्रदेशका ३७ जिल्ला र ३२५ स्थानीय तहमा फैलिएको छ । कमलो भूबनोट, जनसङ्ख्या बसाइँसराई, जलवायुजन्य जोखिम, आगलागीलगायतका कारणले चुरे विनाश हुँदै गएको छ ।
चुरेको प्राकृतिक स्रोत संरक्षण, दिगो व्यवस्थापन, पारिस्थितिकीय सेवाको संवर्द्धनद्वारा गरिबी न्यूनीकरणमा टेवा पुर्याउने लक्ष्यका साथ समितिको स्थापना भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ फागुन २०८१, १० : ३४
लेखकबाट थप