आज श्रीलंकासँग नेपालले अभ्यास खेल

सफल खबर संवाददाता

बुधबार, १० साउन २०८०, ०८ : ४६
आज श्रीलंकासँग नेपालले अभ्यास खेल

काठमाडौं । श्रीलंकामा एसिया कपको तयारी गरिरहेको नेपाली क्रिकेट टिमले आज श्रीलंकाली टिम ब्लूमफिल्ड क्रिकेट एण्ड एथलेटिक क्लबसँग पहिलो अभ्यास खेल खेल्दैछ ।

श्रीलंकाको प्रथम श्रेणीको क्लब ब्लूमफिल्ड र नेपालबीचको खेल अहिले बिहान १० बजे ब्लूमफिल्डक‍ घरेलु मैदान ब्लूमफिल्डमा प्रारम्भ हुनेछ ।

ब्लूमफिल्ड कोलोम्बोस्थित श्रीलंकाको पुरानो क्लब हो । यो क्लबमा श्रीलंकाबाट खेलि सकेका नेसनल खेलाडीहरु पनि छन् । नेपालले श्रीलंकामा चारवटा अभ्यास खेल खेल्नेछ ।

बाँकी तीन खेल कुन टिम र कहिले खेलिने हो निर्णय भैसकेको छैन । श्रीलंका क्रिकेट बोर्डसँग समन्वयमा एसिया कपको तयारी गरिएको हुँदा राम्रो टिमसँग अभ्यास खेलिने दाबी क्यानले गर्दै आएको छ ।

एसिया कपको तयारी भएकाले यो ५० ओभरको अभ्यास खेल हुनेछ । त्यसैले नेपालले आफ्नो टिमबाट ब्याटिङ र बलिङमा फरक खेलाडी मैदान उतार्न सक्छ । क्यानका अनुसारआवश्यकता अनुसार कुनैपनि खेलाडीलाई मैदान उतार्न सकिनेछ । नेपालले एक महिनापछि श्रीलंका र पाकिस्तानमा एसिया कप खेल्दैछ ।

नेपाली खेलाडीलाई श्रीलंकाको वातावरणमा भिज्ने यो राम्रो अवसर हुनेछ । नेपाली खेलाडीहरुको आत्माविश्वास बढाउन यस्तो अभ्यास खेल महत्वपूर्ण हुनसक्छ ।