काभ्रे । लम्पी स्किनका कारण काभ्रेपलाञ्चोकमा ३० हजार ७४३ पशु सङ्क्रमित बनेका छन् । यो रोगबाट जिल्लामा ६८१ पशुचौपाया मरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
पछिल्ला महिना काभ्रेपलाञ्चोकमा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलँदै पशुचौपायाको अवस्था भयावह बन्दै गएको हो । केन्द्रका अनुसार उक्त रोगबाट जिल्लाको १३ स्थानीय तहमा हालसम्ममा ६८१ पशुको मृत्यु भएको छ । उक्त रोगका कारण गाई, गोरु, बाछाबाछी र केही भैँसीसमेत मरेका हुन् । केन्द्रका अनुसार जिल्लामा ३० हजार ७४३ वटा पशु सङ्क्रमित बनेकामध्ये ३० हजार ४६४ गाई, २७९ भैँसी रहेका छन् ।
केन्द्रका निमित्त प्रमुख डा नितेश कार्कीले प्रभावित पशुचौपायाको संख्या पनि उत्तिकै रहेको बताए । उनका अनुसार ३३ हजार गाई र ३९९ भैँसी प्रभावित हुँदा हालसम्म ३२ हजार ८०० पशुमा रोगविरुद्ध खोप लगाइएको छ । खोप लगाइएका पशुमा रोग देखिएको छैन । जिल्लामा तीन लाख गाईभैँसी रहेका छन् ।
जिल्लाको बनेपा नगरपालिकामा सबैभन्दा धेरै सङ्क्रमणदर रहेको छ । बनेपाको ६ वटा वडामा ११८ पशु मरिसकेको तथ्यांकले देखाएको छ । बनेपामा भने गाईको मात्रै मृत्यु भएको नगरको पशु सेवा शाखाले जनाएको छ । बनेपामा छ हजार १५ वटा पशु सङ्क्रमण भएकामध्ये पाँच हजार गाईमा खोप लगाएको छ । यहाँ प्रभावित पशु सङ्ख्या ६ हजार २०० छन् । वडा नं १ देखि ५ सम्म र १० नं वडामा सङ्क्रमण फैलिएको जनाइएको छ ।
केन्द्रका अनुसार पाँचखाल नगरमा एक सय पशु मरिसकेका छन् । धुलिखेल नगरमा ७२, पनौती नगरमा २५, मण्डनदेउपुर नगरमा ६४, नमोबुद्ध नगरमा ४१ तथा तेमाल गाउँपालिकामा ३५, खानीखोलामा ७९, बेथानचोकमा २५, रोशीमा ३१, भुम्लुमा २०, चौँरीदेउरालीमा ४२ र महाभारत गाउँपालिकामा २९ पशु मरेका छन् । चौँरीदेउराली गाउँपालिकाले पीडित कृषकलाई प्रतिपशु मरेवापत रु १० हजार तत्कालका लागि राहत दिने निर्णय गरेको छ भने धुलिखेलले बाछी खरिदका लागि साझेदारी गर्ने जनाएको छ ।
जिल्लामा महामारीको रूप लिएको उक्त रोग नियन्त्रण बाहिर गएको बताइन्छ । उक्त रोगका कारण अहिले पशुपालन व्यवसाय नै संकटमा परेको कृषक बताउँछन् । सरोकारवाला निकायले किसानलाई पशुहरूलाई सुरक्षित राख्न समयमै खोप लगाउन तथा घरायसी उपचारमा ध्यान दिन अनुरोध गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने पनि जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ साउन २०८०, १० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमतीका ७१ हजार ९ सय पशुलाई लगाइयो खोप
लम्पी स्किन: बागमतीका ६१ हजार गाईबस्तुमा लगाइयो खोप
हावाहुरी र लम्पी स्किनबाट प्रभावित किसानलाई गाउँपालिकाको राहत