युरोपेली संघद्वारा नेपालको कृषिका लागि ५ अर्ब र शिक्षा क्षेत्रका लागि ११ अर्ब सहयोग

सफल खबर संवाददाता

मंगलबार, ०२ साउन २०८०, २० : १२
युरोपेली संघद्वारा नेपालको कृषिका लागि ५ अर्ब र शिक्षा क्षेत्रका लागि ११ अर्ब सहयोग

काठमाडौँ । युरोपेली संघ (युरोपियन युनियन) ले नेपालको कृषि तथा ग्रामीण विकास कार्यक्रमका लागि सन् २०१९ देखि हालसम्म ३६ मिलियन युरो (करिब ५ अर्ब) रकम सहयोग प्रदान गरेको छ । यसैगरी शिक्षा क्षेत्रको विकासका लागि सन् २०१६ देखि हालसम्म ८१ मिलियन युरो (करिब ११ अर्ब ३ करोड) रकम सहयोग गरेको छ ।

युरोपेली संघबाट नेपालका लागि राजदूत नोना डेप्रेजले सो जानकारी दिइन् । उनले एक विज्ञप्तीमा भनेकी छन्, ‘सन् २०१५ मा कृषि विकास रणनीति र २०१६ मा विद्यालय क्षेत्र विकास कार्यक्रम सुरु भएदेखि यी क्षेत्रमा हासिल भएका नतिजा र प्रगतिका लागि म यहाँका अधिकारीहरूलाई बधाई दिन चाहन्छु । दुवै क्षेत्रहरू कोभिड–१९ ले निम्त्याएका चुनौतीहरू पार गर्न प्रमुख चालक थिए । र, ईयूले नेपालको कोषमा सीधै सहयोग गर्न पाएकोमा हामी खुसी छौं । ईयू र नेपालले कृषि र शिक्षालाई प्राथमिकता दिन हातमा हात मिलाएर काम गर्दै आएका छौँ । हामी भविष्यमा पनि यस क्षेत्रमा बलियो साझेदारका रुपमा रहनेछौं ।”

विद्यालय शिक्षा भविष्यको विकास र समृद्धिको आधार रहेको उल्लेख गर्दै सरकारको विद्यालय क्षेत्र विकास कार्यक्रम नयाँ सङ्घीय प्रणालीमा अनुकूलन गर्ने समानान्तर चुनौती र कोभिड सङ्कटका बाबजुद शिक्षामा पहुँचलाई सम्बोधन गर्न सफल भएको विज्ञप्तीमा बताइएको छ ।

प्रतिक्रिया दिनुहोस