उद्योगी–व्यवसायीहरूले दिएका सुझावअनुसारको बजेट आए केही महिनाभित्रै अर्थतन्त्र सुध्रन्छ : अध्यक्ष ढकाल

सफल खबर संवाददाता

मंगलबार, ०२ जेठ २०८०, ११ : २६
उद्योगी–व्यवसायीहरूले दिएका सुझावअनुसारको बजेट आए केही महिनाभित्रै अर्थतन्त्र सुध्रन्छ : अध्यक्ष ढकाल

रुपन्देही । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र अर्थ मन्त्रालयले उद्योगी व्यवसायीहरूले दिएका सुझावअनुसारको बजेट ल्याएमा केही महिनाभित्रै देशको अर्थतन्त्र सुध्रने बताएका छन् ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको २९ औँ परिषद् सभालाई सम्बोधन गर्दै ढकालले खस्कँदै गइरहेको अर्थतन्त्र सुधारका लागि महासंघले सरकार र अर्थ मन्त्रालयलाई यसअघि दिएका सुझाव कार्यान्वयन गरी बजेट ल्याउन सके अर्थतन्त्र सही बाटोमा आउने बताएका हुन् ।

नेपालको अर्थतन्त्रमा समस्या आउनुमा कुनै एक पक्ष मात्रै जिम्मेवार नरहेको बताउँदै उनले अर्थतन्त्र सुधारका लागि सरकारले नै महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने र निजी क्षेत्रले त्यसलाई साथ दिनुपर्ने बताए ।

भारतीय सीमा नजिकै रहेकोले समस्याहरू आएको थाहा पाउँदा नरमाइलो लागेको बताउँदै ढकालले नजिक सीमाको फाइदा व्यवसायीहरूले उठाउन सक्ने गरी योजना बनाउन आग्रह गरे ।

बुटवल तथा रुपन्देही क्षेत्र विभिन्न सम्भावना बोकेको क्षेत्र रहेको बताउँदै अध्यक्ष ढकालले आफूले पनि त्यही सम्भावना देखेर केबुलकारमार्फत यस क्षेत्रको व्यवसायमा संलग्न हुन लागेको बताए ।

आफू अध्यक्ष भएपछि विभिन्न कार्यहरू गरिरहेको बताउँदै उनले केही सकारात्मक परिणामहरू आइसकेको दाबी गदै आगामी दिनमा अझै उत्कृष्ट कार्य गर्दै जाने प्रतिबद्धता जनाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले संघीय सरकारले देशको आर्थिक अवस्था सुधार गर्ने गरी कार्यक्रमहरू ल्याउनुपर्नेमा जोड दिए ।कुनै एउटा क्षेत्रको मात्रै भन्दा पनि देशकै आर्थिक अवस्था निकै कमजोर भएको बताउँदै उनले उद्योगी व्यवसायीहरूले दिएका सुझावलाई नीति कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने बताए ।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले नगर सरकार सधैँ निजी क्षेत्रसँग साथमा रहेको बताउँदै निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

उपमहानगरले आर्थिक मन्दीलाई ध्यानमा राखेर खर्च कटौती गरेको उनको भनाइ छ ।संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित सदस्य उज्ज्वल प्रसाद कसजूले पछिल्लो समय बुटवलमा आर्थिक चलायमान केही कम भएपनि यसलाई बढाउनको लागि विभिन्न पहलहरू भइरहेको, घर भाडा घटाउने तथा कर पनि घटाउने सम्बन्धमा छलफल भइरहेको बताए ।

यसैबीच बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नेपाल उद्योग वाणिज्य महासंघमा निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरूलाई सम्मान गरेको छ ।महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ तथा लुम्बिनी प्रदेशबाट महासंघमा निर्वाचित महासंघका कार्यसमिति सदस्यहरूलाई सम्मान गरिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघमा लुम्बिनी प्रदेशबाट बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजूसहित जम्शेर अली, मोहन श्रेष्ठ, केशवप्रसाद भण्डारी, भीष्मप्रसाद न्यौपाने, किशोर आचार्य, अब्दुल वाहिद अन्सारी निर्वाचित निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस