महोत्तरी । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको औद्योगिक यात्रामा नयाँ अध्याय थपेको बताएका छन् । महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं. १, रामनगरमा स्थापना भएको नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज प्रालिको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ढकालले सो उल्लेख गरेका हुन् ।
अध्यक्ष ढकालले मुलुकको आत्मनिर्भरता, आर्थिक वृद्धि र दिगो औद्योगिक विकासको दिशामा यो महत्त्वपूर्ण कदम रहेको उल्लेख गरेका छन् । बैंक, बीमा, रेमिट्यान्स, पर्यटन पूर्वाधार, सूचना प्रविधि तथा जलविद्युत जस्ता अर्थतन्त्रका प्राथमिकताका क्षेत्रमा योगदान गर्दै आएको आइएमई ग्रुपले अब उत्पादनमूलक उद्योगमा प्रवेश गरेको र यो मुलुकको औद्योगिक पुनर्जागरणको संकेत भएको उनले बताए ।
नेपालमा उद्योगहरू बन्द हुने, लगानीकर्ताहरू पलायन हुने, र लाखौँ युवाहरू अरबका खाडी मुलुकहरूमा रोजगारका लागि जानु पर्ने बाध्यतालाई कम गर्न उत्पादनमूलक उद्योगको विकास अपरिहार्य भएको अध्यक्ष ढकालको भनाइ थियो। उनले नेपालमा उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन गर्ने उद्देश्यले यो उद्योग स्थापना गरिएको जानकारी गराए ।
२०७८ साउनमा निर्माण सुरु भएको नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिजले हाल दैनिक ७५ मेट्रिक टन गुणस्तरीय कागज उत्पादन गरिरहेको छ। यस उद्योगले पहिलो चरणमा फोटोकपी पेपर, कापी–किताबका लागि प्रयोग हुने कागज उत्पादन सुरु गरेको छ, जसले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नेछ। नेपालमा भृकुटी कागज कारखाना बन्द भएपछि औद्योगिक स्तरमा कागज उत्पादन थालिएको यो पहिलो ठुलो प्रयास भएको अध्यक्ष ढकालले बताए ।
उनका अनुसार, नेपालले वार्षिक रूपमा १२ अर्ब रुपैयाँ बराबरको कागज तथा कागजजन्य उत्पादन आयात गर्छ, जसमा भारत, चीन, जर्मनी, अमेरिका, थाइल्याण्ड, इन्डोनेसिया र बंगलादेशबाट आयात हुने कागज समावेश छ। नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिजको सञ्चालनले स्वदेशी कागज उत्पादन बढाउनुका साथै आयातमा निर्भरता घटाउने आशा गरिएको छ।
कागज उद्योगका लागि खर, पराल, काठजस्ता परम्परागत कच्चा पदार्थको सट्टा, यस उद्योगले फोहोर कागजलाई पुनः प्रशोधन गरेर कागज उत्पादन गर्ने नयाँ मोडल अपनाएको छ। घर, अफिस तथा विद्यालयहरूबाट संकलन गरिएका पुराना कागजलाई प्रशोधन गरी लेखन तथा छपाईका लागि उपयुक्त कागज उत्पादन गरिने छ। यसले वातावरण संरक्षणमा समेत महत्त्वपूर्ण योगदान दिनेछ।
उद्योगले प्रत्यक्ष रूपमा ३०० भन्दा बढी तथा अप्रत्यक्ष रूपमा हजारौँ व्यक्तिलाई रोजगारीको अवसर सिर्जना गरेको छ। जसमा इन्जिनियर, प्राविधिक, कारखाना श्रमिक, आपूर्ति व्यवस्थापक, खुद्रा विक्रेता तथा किसानहरू समेत समावेश छन्। उद्योगले ५० प्रतिशतभन्दा बढी रोजगारी स्थानीय समुदायका व्यक्तिहरूलाई प्रदान गरिरहेको छ, जसमा महिलाहरूको उल्लेखनीय सहभागिता रहेको छ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षको रूपमा समेत भूमिका निर्वाह गर्दै आउनुभएका ढकालले लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले ल्याएका कानुनी सुधारहरूलाई सकारात्मक रूपमा लिँदै आएका छन्। उनले सरकारी नीति तथा कानुन निर्माण प्रक्रियामा निजी क्षेत्रको सुझावलाई आत्मसात् गर्न थालिएकोमा सन्तोष व्यक्त गरे ।
अध्यक्ष ढकालले पाथीभरा केबलकार परियोजनाबारे सतहमा आएका केही विषयहरूले नेपालमा लगानी र व्यावसायिक वातावरणप्रति नकारात्मक सन्देश प्रवाह गर्ने सम्भावना रहेको भन्दै सरोकारवाला निकायलाई गम्भीर हुन आग्रह गरे । ताप्लेजुङका स्थानीय बासिन्दा, स्थानीय सरकार तथा प्रदेश सरकारको आग्रहमा सुरु गरिएको केबलकार परियोजना धार्मिक तथा सांस्कृतिक मूल्य मान्यता, पर्यावरणीय सन्तुलन तथा स्थानीय जनताको सहमति अनुरूप अघि बढाइएको उनले स्पष्ट पारे ।
अन्त्यमा, अध्यक्ष ढकालले नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज जस्ता उत्पादनमूलक उद्योगहरूको विकासले नेपालको आर्थिक समृद्धिमा टेवा पुर्याउने विश्वास व्यक्त गर्दै सरकारी नीति तथा निजी क्षेत्रको सहकार्यले औद्योगिक विकासलाई गति दिने बताए ।
समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, उद्योग तथा वाणिज्य मन्त्री, मधेस प्रदेशका मुख्यमन्त्री, संघीय सांसद, प्रदेश सभा सदस्य, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा उद्योग वाणिज्य महासंघका सदस्यहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ फागुन २०८१, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
केबलकारविरोधीलाई पछि पछुतो हुनसक्छ : चन्द्रप्रसाद ढकाल
‘केबलकारले पहिचानको प्रवर्द्धन गर्छ, नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ’
सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक : अध्यक्ष ढकाल
लगानीको वातावरण बनाउन अझै कानुन संशोधन गर्नुपर्छ : चन्द्रप्रसाद ढकाल
महासंघले लगानी प्रवर्द्धनमा नियोगहरूलाई सघाउँछ : चन्द्रप्रसाद ढकाल
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान