नयाँ पुस्तकालय खोल्नका लागि कानुनी व्यवस्था गर्न सांसद ठाकुरप्रसाद गैरेको माग

सफल खबर संवाददाता

मंगलबार, १२ बैशाख २०८०, १३ : ४४
नयाँ पुस्तकालय खोल्नका लागि कानुनी व्यवस्था गर्न सांसद ठाकुरप्रसाद गैरेको माग

काठमाडौँ । नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरले पुराना पुस्तकालयहरुको संरक्षण र नयाँ पुस्तकालय खोल्नका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले कानुनको अभावमा पुस्तकालयहरुले समस्या भोगिरहनु परेको उल्लेख गर्दै त्यसको उचित व्यवस्थापनका लागि तत्काल आवश्यक कानुन बनाउन सरकारसँग माग गरेका हुन् । सांसद गैरले पुस्तकालयको उचित व्यवस्थापनका लागि कानुन बनाउनेगरी तत्काल संसदमा विधेयक पेश गर्न पनि सरकारलाई सचेत गराए ।

 

‘यो सार्वजनिक पुस्तकालय सञ्चालनसम्बन्धि नियम, कानुन, ऐन नहुँदा पुस्तकालयहरुले भोग्नुपरेको समस्या एकातिर छ भने पुस्तकालयको अभावले पढने बानी पनि समाप्त हुँदैछ । र, पुस्तकहरु पनि हराउँदै गइरहेका छन्’ उनले भने,  ‘पुस्तक प्राप्त गर्न पनि छोडिएको छ । त्यसकारण यो पुराना सार्वजनिक पुस्तकालयहरुलाई संरक्षण गर्न तत्काल कानुन बनाउन र नयाँ पुस्तकालयहरु खोल्नका लागि ती सबै पुस्तकालयहरुको संचालनको, व्यवस्थापनको विषयमा अगाडि बढनका लागि तत्काल ऐन सदनमा प्रस्तुत गरेर व्यवस्थित गर्नेतर्फ म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’सांसद ठाकुरले पुस्तक पढने संस्कृति नै हराउन लागि रहेका बेला सरकारले पुस्तकालयको व्यवस्थापनमा ध्यान दिनुपर्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस