पूर्वराजाले प्रजातन्त्रप्रति विषवमन गरे : ठाकुर गैरे

सफल खबर संवाददाता

मंगलबार, १३ फागुन २०८१, १५ : ४९
पूर्वराजाले प्रजातन्त्रप्रति विषवमन गरे : ठाकुर गैरे

काठमाडौं । नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रप्रति विषवमन गर्ने कोशिस गरेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकको विशेष समयमा बोल्दै सांसद गैरेले यस्तो आरोप लगाएका हुन् ।

पूर्वराजा शाहले प्रजातन्त्र दिवसको दिन सार्वजनिक गरेको भिडिओ सन्देशले सहिदहरूको अपमान गरेको समेत बताए ।

‘फागुन ७ गते पूर्वराजाले नेपालका सहिदहरू, नेपालको परिवर्तनका निम्ति योगदान गर्ने सहिदहरूप्रति अपमान गर्ने र प्रजातन्त्रप्रति विषवमन गर्ने कोशिस गरे,’ उनले भनेका छन् ।शाहले संविधान उल्लंघन र निरंकुशता लाद्ने काम गरेकै कारण राजतन्त्र समाप्त भएको पनि उनले बताए ।

‘संविधानले यो व्यवस्थाले दिएको आसनमा बस्नुहोस् । हामीलाई कुनै आपत्ति छैन् । तर, संविधान उल्लंघनको कोसिस भयो भने राजतन्त्रको समाप्तीलाई कसैले रोक्न सक्ने छैन्,’ गैरेले भने, ‘राजाले ज्ञानेन्द्रले संविधान उल्लंघन गर्ने कोशिस गरे ।

संविधानले दिएको अवसरलाई दुरुपयोग र अपमान गर्ने कोशिस गरे । निरंकुशता लाद्ने र दलहरूलाई बन्दे लाउने कोशिस गरे । त्यसको परिणाम राजतन्त्रको अन्त्य भएको हो ।’

प्रतिक्रिया दिनुहोस