ट्रमा सेन्टरका लागि जग्गा व्यवस्थापन अघि बढ्यो

सफल खबर संवाददाता

मंगलबार, २८ चैत्र २०७९, १४ : ५६
ट्रमा सेन्टरका लागि जग्गा व्यवस्थापन अघि बढ्यो

नवलपरासी । सङ्घीय सरकारको लागतमा नवलपरासीको (बर्दघाट-सुस्ता पश्चिम) बर्दघाटमा निर्माण हुने भनिएको ट्रमा सेन्टर निर्माणका लागि जग्गा व्यवस्थापनको काम अघि बढाइएको छ  । अघिल्लो आर्थिक वर्षमा जग्गा प्राप्ति हुन नसकेपछि ट्रमा सेन्टर निर्माणका लागि आएको रु १० करोडको बजेट फ्रिज भएको थियो ।बर्दघाट नगरपालिका–२ को चिसापानीमा राष्ट्रिय आवास कम्पनीका नाममा रहेको जग्गा प्राप्तिका लागि सहरी विकास मन्त्रालयसँग प्रक्रिया अघि बढाइएको बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए ।

जग्गा प्राप्तिका लागि गत माघ १७ मा सहरी विकास मन्त्रालयका उपसचिवको संयोजकत्वमा मन्त्रालयका उपसचिव, राष्ट्रिय आवास कम्पनीका प्रतिनिधि, सहरी विकास भवन शाखा चितवनका प्रमुख, परासी मालपोतका अधिकृत र बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहितको पाँच सदस्यीय समिति गठन गरिएको थियो ।समितिले बुझाएको प्रतिवेदनअनुसार थप प्रक्रिया अघि बढ्ने सबैलाई पायक पर्ने गरी चिसापानीमै ट्रमा सेन्टर निर्माण होस् भन्ने उद्देश्यले सम्बन्धित मन्त्रालय र निकायहरूमा पहल भइरहेको नगरप्रमुख श्रेष्ठले बताए । बहुवर्षीय योजनाअन्तर्गत कूल ३३ करोड लागतमा बन्ने ट्रमा सेन्टरका लागि हाललाई रु चार करोड रकम योजनामा रहेको नगरले जनाएको छ ।   पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा अत्यधिक दुर्घटना हुने र घाइतेहरुले समयमै उपचार नपाउँदा अकालमै मृत्यु हुने गरेको छ । सामान्य उपचारदेखि आकस्मिक उपचारका लागि यस क्षेत्रका नागरिकहरू भैरहवा, बुटवल र भरतपुर जाने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस