रुसबारे एक दिनमै बोली फेरे ट्रम्पले

एजेन्सी

बुधबार, ०२ साउन २०७५, ०९ : ५३
रुसबारे एक दिनमै बोली फेरे ट्रम्पले

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने अमेरिकी गुप्तचर निकायहरूको निष्कर्ष स्वीकारेका छन् । एक दिनअघि त्यो मान्न उनी तयार थिएनन् ।

सोमवार प्रस्ट रुपमा आफ्ना कुरा राख्न नसकेको उल्लेख गर्दै ट्रम्पले अमेरिकी चुनावमा रुसले हस्तक्षेप गर्नुपर्ने कारण आफूले नदेखेको भन्न खोजेको बताए ।

फिनल्याण्डको हेलसिन्कीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्तापछि ट्रम्पले दिएको अभिव्यक्तिको अमेरिकी नेताहरूबाट चर्को आलोचना भएको थियो । यहाँसम्म कि ट्रम्पकै केही साझेदारहरूले आफ्नो अडानबारे स्पष्ट पार्न उनलाई आग्रह गरे ।

'पूर्ण विश्वास'
पछिल्लो अभिव्यक्तिमा चाहिँ ट्रम्पले अमेरिकी गुप्तचर निकायहरूप्रति आफ्नो 'पूर्ण विश्वास र समर्थन' रहेको बताएका छन् । पुटिनसँगको भेटवार्तापछि सोमवार आयोजित एउटा संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले एउटा प्रश्नको जवाफ दिएपछि विवाद शुरू भएको थियो । ह्वाइट हाउसले सो पत्रकार सम्मेलनमा गरिएको एउटा सवालजवाफको अंश राखेको छ ।

के भनेका थिए?
पत्रकारः राष्ट्रपति पुटिनले सन् २०१६ को चुनावमा रुसले हस्तक्षेप गर्नुपर्ने कुनै कारण नभएको बताएका छन् । रुसले हस्तक्षेप गरेको सबै अमेरिकी गुप्तचर निकायको निष्कर्ष छ ।

मेरो पहिलो प्रश्न- तपाईँलाई चाहिँ कसले हस्तक्षेप गरे जस्तो लाग्छ?

ट्रम्पः धेरै मानिसहरू म कहाँ आउँछन्, उनीहरू भन्छन् रुसले त्यो गरेको हुनुपर्छ । मसँग राष्ट्रपति पुटिन हुनुहुन्छ । उहाँले रुसले त्यसो नगरेको भन्नुभयो। म यसो भन्छुः रुसले त्यसो गर्नुपर्ने कुनै कारण म देख्दिनँ ।

अहिले के भन्छन्?
अहिले आएर आफ्नो भाषण हेरेको र त्यसबारे प्रस्ट पार्नुपर्ने आफूले महसुस गरेको ट्रम्पले बताएका छन् । उनले भने, "मेरो अभिव्यक्तिको एउटा वाक्य यस्तो हुनुपर्थ्योः म किन कुनै कारण देख्दिनँ र? अथवा रुस किन हुनसक्दैन ।"

ट्रम्पले अगाडि थपे, "रुसले सन् २०१६ को चुनावमा हस्तक्षेप गरेको भन्ने हाम्रा गुप्तचर निकायहरूको निष्कर्षलाई म स्वीकार गर्दछु । अरु मानिस पनि हुनसक्छन्  । त्यहाँभन्दा बाहिरका थुप्रै मानिस पनि हुनसक्छन् ।"
सोमवारको भेटवार्तापछि पुटिनले अमेरिकी राष्ट्रपतीय चुनावलाई आफ्नो देशले प्रभावित पारेको भन्ने केही मानिसहरूको सोचाइ 'पूर्णतः हास्यास्पद' भएको बताएका थिए ।

अमेरिकाको फक्स न्यूज च्यानलसँगको एउटा अन्तर्वार्तामा पुटिनले अमेरिका-रुस सम्बन्धलाई अमेरिकाको आन्तरिक राजनीतिक संघर्षको बन्धक बनाउन नहुने टिप्पणी गरे । हेलसिन्कीमा भएको भेटवार्तालाई ट्रम्प र पुटिन दुवैले सफल भनेका थिए । -बीबीसी

प्रतिक्रिया दिनुहोस