लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग काठमाडौंको टोली पोर्चुगल पुगेको छ । विद्युतीय राहदानीका लागि दरखास्त संकलन गर्न विभागको टोली बुधवार राजधानी लिस्बन पुगेको हो ।
विभागकी शाखा अधिकृत रञ्जिता दाहाल नेतृत्वको टोलीलाई गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष रविन अधिकारी, महासचिव राजकुमार थापा, अवैतनिक नेपाली महावाणिज्य दूतावासका प्रतिनिधि छविलाल बगाले, नेपाली महिला समाज पोर्चुगलकी अध्यक्ष माया खरेल लगायतले लिस्बनस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
टोलीअन्तर्गतको नेपाली राजदूतावास पेरिस, फ्रान्सका प्रतिनिधिले बुधवारबाटै राहदानी सेवा दिन शुरू गरेको छ । लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्य दूतावासको समन्वय र सहजीकरणमा दूतावासको टोलीले लिस्बनको आन्जुसबाट राहदानी सेवा शुरू गरेको हो । बुधवार पहिलो दिन राहदानीको म्याद सकिसकेका, क्षति भएका र राहदानी नै नभएका गरी १७ जनाको दरखास्त सङ्कलन गरिएको टोलीका सदस्य एवं नेपाली दूतावास पेरिस, फ्रान्सका तृतीय सचिव दीपेन्द्रप्रसाद साहले जानकारी दिए ।
टोलीले राहदानीको म्याद सकिएको, क्षति भएको, हराएको, नष्ट भएको र पोर्चुगलमा जन्मेका नाबालिकका लागि प्राथमिकताका आधारमा सेवा प्रवाह गर्ने पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए । झण्डै १ महिनासम्म सञ्चालन हुने राहदानी सेवा शिविरबाट ५ हजारभन्दा बढी नेपालीले सेवा लिने अनुमान गरिएको छ ।
टोलीले आगामी अप्रिल २५ सम्म शनिवार बाहेकका दिन राहदानीलगायत सेवा प्रवाह गर्ने बताइएको छ ।रासस
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १६ चैत्र २०७९, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राहदानी विभाग र फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगलमा
राहदानी विभाग पुगिन् पराष्ट्रमन्त्री राणा
अपराध नियन्त्रण गर्न एनसीबी र राहदानी विभागबीच समझदारी
एनसीबी काठमाडौं र राहदानी विभागबीच समझदारी