काठमाडौं । सरकारले मिटरब्याजमा रकम असुली गर्नु अपराध मानिने गरी कानूनी व्यवस्था गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मुलुकी अपराध संहितालगायतका कानुन संशोधन गरेर मिटरब्याजमा रकम असुलीलाई अपराध मानिने व्यवस्था गर्ने निर्णय गरेको हो ।
कानून संशोधनको प्रक्रिया पूरा गर्न मन्त्रिपरिषदको विधेयक समितिमा पठाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद स्रोतका अनुसार मिटरब्याजमा रकम असुलीलाई अपराध मान्न मुलुकी अपराध संहिता ऐन, मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, मुलुकी देवानी संहिता ऐन र मुलुकी देवानी कार्यविधि संहिता ऐनका केही प्रावधान संशोधन हुने छ ।
गाउँमा साहुकारसँग लिएको चर्को ब्याजको ऋणका कारण जायजेथा गुमाउनुपरेको भन्दै न्याय माग्न मधेशका विभिन्न जिल्लाबाट एक टोली पैदल हिँडेर काठमाडौं आएको छ । उनीहरुले काठमाडौं आएर माइतीघरमा प्रदर्शन थालेको दुई दिनपछि सरकारले मिटरब्याजलाई अपराध घोषणा गर्ने निर्णय गरेको हो ।
यसैबीच, आन्दोलनरत मिटरब्याज पीडितले तत्काल आन्दोलनका कार्यक्रम फिर्ता नलिने भएका छन् । मन्त्रिपरिषद् बैठकले पीडितलाई न्याय दिलाउन मिटर ब्याजमा लगाउनेलाई अपराध मान्ने गरी कानुन संशोधन गर्ने निर्णय गरेको थियो । तर, यसलाई आन्दोलनरत पीडितहरुले वार्ताको वातावरण भएको बताएका छन् ।
अब आफूहरु सरकारी वार्ता टोलीसँग वार्ता गर्न तयार भएपनि आन्दोलन फिर्ता नहुने उनीहरुले बताएका छन् । यसअघि सरकारले आन्दोलनरत पक्षसँग वार्ता गर्नका लागि गृह, कानून र प्रधानमन्त्री कार्यालयका सहसचिव र उपसचिव रहेको ४ सदस्यीय वार्ता टाली गठन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ चैत्र २०७९, १९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मिटरब्याज जाँचबुझ आयोग गठन
मिटरब्याज सम्बन्धी उजुरी लिन जिल्ला प्रशासन कार्यालयमा सहजीकरण डेस्क
सरकार र मिटरब्याज पीडितबिच आज पनि वार्ता