‘छक्का पञ्जा ४’को ट्रेलर युट्युब ट्रेन्डिङको पहिलो स्थानमा

सफल खबर संवाददाता

आइतबार, ०७ फागुन २०७९, १४ : २१
‘छक्का पञ्जा ४’को ट्रेलर युट्युब ट्रेन्डिङको पहिलो स्थानमा

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा ४’ को ट्रेलर सार्वजनिक भएको ४८ घण्टा नपुग्दै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पर्न सफल भएको छ । शुक्रबार साँझ सार्वजनिक ३ मिनेट २० सेकेन्ड लामो ट्रेलरले समाचार तयार गर्दासम्म १० लाख बढी भिउज पाउँदै युट्युव ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको हो । ट्रेलरले ४४ हजार बढी लाइक पनि पाएको छ ।

आमा सरस्वती मुभिज र आइएमईको संयुक्त प्रस्तुति रहेको यस चलचित्रको केही समय अघिमात्र ‘दर्शन सलाम’ बोलको गीतसहित टिजर सार्वजनिक भएकाे थियो । उक्त टिजरसहितको सो गीत पनि ट्रेन्डिङ नम्बर १ मा परेको थियो ।

आगामी फागुन १९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा पिताको राजनीतिक विरासत जोगाउन राजनीतिमा होमिएका दीपकराज गिरी (राजा) लाई खराब स्वभाव र शैलीको नेताको रुपमा चित्रण गरिएको छ ।

चलचित्रमा अभिनेत्री बेनिशा हमाल पत्रकारको भूमिकामा प्रस्तुत छिन् । पत्रकार र नेताबीचको सम्बन्धलाई पनि चलचित्र मार्फत कटाक्ष गरिएको छ । दीपाश्री निरौलालाई दीपकराज अर्थात् राजाकी पत्नीको भूमिकामा प्रस्तुत गरिएको छ ।

चलचित्रमा दीपक, दीपा र बेनिशाको अलाव केदारप्रसाद घिमिरे, बुद्धि तामाङ्ग, नीर शाह, अनुरागमान सिंह कुँवर, निर्मल शर्मा, मलिना जोशी, राज आचार्यको पनि महत्वपूर्ण भूमिकामा छन् । चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन र दीपक स्वयंको कथा, पटकथा तथा संवाद छ ।

चलचित्रको निर्मातामा दीपेन्द्र खनिया र केशव न्यौपाने छन् भने कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा हुन् ।

प्रतिक्रिया दिनुहोस