थाई गुफा : फसेका बाँकी बालकको उद्धार शुरू

एजेन्सी

सोमबार, २५ असार २०७५, १० : २२
थाई गुफा : फसेका बाँकी बालकको उद्धार शुरू

थाईल्याण्डको एउटा गुफामा फसिरहेका उद्धार गर्न बाँकी नौजनाको उद्धार कार्य शुरू गरिएको बुझिएको छ । फसेकामध्ये आठजना बालक र प्रशिक्षकको उद्धार गर्न बाँकी छ । यसअघि चार बालकहरूलाई आइतवार नै उद्धार गरी सुरक्षित ठाउँमा लगिएको थियो ।

बाँकी नौजनाको उद्धार कार्य शुरू गरिएकोबारे औपचारिक रुपमा केही बताइएको छैन । तर गुफाको प्रवेशद्वारमा एम्बुलेन्सहरू पुगेको बीबीसी संवाददाताले देखेका छन् । अक्सिजनका ट्याङ्कीहरूलाई फेर्नुपर्ने भएकोले उद्धार कार्य राति रोकिएको थियो ।

सोचेभन्दा छिटो
पानी आउन रोकिएको फाइदा उठाउँदै उद्धारकर्मीहरूले उद्धारको काम शुरूमा ठानिएभन्दा निकै छिटो शुरू गरेका थिए । उद्धार कार्यको पहिलो चरण पनि अधिकारीहरूले सोचेभन्दा निकै छिटो सम्पन्न भएको थियो ।
अघि बिहान उद्धार टोलीका प्रमुख नोरोङ्साक ओसोथ्थानाकोले भनेका थिए, "थप उद्धारका लागि हाम्रो टोली तयार हुने बितिक्कै हामीले उद्धार कार्यलाई निरन्तरता दिन्छौँ ।"
ती बालकहरूले सुरक्षित उद्धारका लागि पहिला कहिल्यै नलगाएको पानीमुनि जाँदा लगाउनुपर्ने कपडा र उपकरणहरू लगाएका थिए ।

उनीहरूलाई अनुभवी व्यक्तिहरूले उद्धार गरेका थिए र अहिले ती बालकहरू अस्पतालमा छन् । एउटा स्रोतले बीबीसीलाई बताए अनुसार सबैभन्दा कान्छामध्येका ती बालकहरूले कठिन परिस्थिति सामना गरेर आए पनि उल्लेखनीय रुपमा राम्रो गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस