काठमाडौ । आगामी पुस १४ गते बागमती प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण हुने भएको छ । प्रदेशसभा सचिवालय हेटौंडामा शुक्रबार बसेको सर्वदलीय बैठकले १४ गतेका लागि शपथ ग्रहणको कार्यक्रम तय गरेको हो । प्रदेशसभाका सदस्यहरुको शपथका लागि प्रदेशसभा सचिवालय हेटौंडाको परिसरमा आवश्यक व्यवस्थापन मिलाउने गरी बैठकले निर्णय गरेको छ ।
बैठकले पुस १३ गतेका लागि प्रदेशसभाको ज्येष्ठ सदस्यको शपथ ग्रहणको कार्यक्रम गर्ने निर्णय गरेको छ । जेष्ठ सदस्यको शपथ पश्चात अरु १०९ जना सांसदहरुलाई शपथ ग्रहण गराइने सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए ।
जेष्ठ सदस्यको रुपमा नुवाकोटबाट निर्वाचित नेकपा माओवादी केन्द्रका सांसद रामप्रसाद ढुंगानाले जेष्ठ १३ गते दिउँसो २ बजे प्रदेश प्रमुख मार्फत शपथ ग्रहण गर्ने उनले बताए । जेष्ठ सदस्यको शपथको कार्यक्रम प्रदेश प्रमुख कार्यालय हेटौंडामा गरिनेछ ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको संसदीय समिति गठन लगायतका कार्यक्रम रहेकाले त्यसलाई प्रभाव नपर्ने गरी संसदको कार्यक्रम तयार गरिएको मन्त्री खनालले बताए ।
प्रदेशसभाको पहिलो बैठक भने आगामी पुस १७/१८ मा राख्ने निर्णय भएको उनले बताए । प्रदेश प्रमुख कार्यालयसँगको सहकार्यमा सरकारले प्रदेशसभाको बैठक आह्वान गर्ने सर्वदलीय बैठकले निर्णय गरेको हो । प्रदेशसभाको पहिलो बैठक बस्नु अघि कार्यव्यवस्था समितिको औपचारिक बैठक बस्ने र उक्त बैठकले प्रदेशसभाको पहिलो बैठकको कार्यसूची तयार गर्ने उनले बताए ।
उनका अनुसार जेष्ठ सदस्य ढुंगानाले प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ पुस २०७९, १४ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशसभा बैठक: तीन विधेयक सर्वसम्मतिले पारित
बागमती प्रदेशसभा बैठक बिहीबारसम्मका लागि स्थगित
बागमती प्रदेशसभाको अधिवेशन १५ गते बोलाउने मन्त्रिपरिषद्को निर्णय