बागमती प्रदेशसभा बैठक: तीन विधेयक सर्वसम्मतिले पारित

सफल खबर संवाददाता

सोमबार, ०७ असोज २०८१, १९ : ११
बागमती प्रदेशसभा बैठक: तीन विधेयक सर्वसम्मतिले पारित

काठमाडौँ । बागमती प्रदेशसभाको आज बसेको दोस्रो बैठकले तीन विधेयकलाई सर्वसम्मतिबाट पारित गरेको छ ।

उक्त बैठकले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सर्वसम्मतिबाट पारित गरेको हो ।

सो बैठकमा क्रमशः प्रदेश स्वास्थ्य मन्त्री किरण थापा मगरले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, कृषि तथा पशुपक्षी विकास मन्त्री प्रकाश श्रेष्ठले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र उद्योग, वाणिज्य, भूमि तथा सामान्य प्रशासन मन्त्री सुकुमाया तामाङले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भनी पेस गरेको छ ।

प्रदेशसभाको आइतबार र आजको बैठकको छलफलमा उठेका प्रश्नको बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले जवाफ दिएका थिए । उनले प्रदेश सरकारले प्रदेशसभाका सदस्यको भावना र चाहनालाई मध्यनजर गरी प्रदेशको सबै जिल्लामा समानुपातिक योजना र बजेट वितरण हुने, त्यसको अनुगमन गर्न सरकारले संयन्त्र तयार गर्न लागेको बताए ।

उनले मौजुदा सरकारले अहिले न्यूनतम ६७ बुँदे साझा कार्यक्रम ल्याइएको र त्यसमा प्रदेशको सबै जिल्लाको भौगोलिक अवस्थाअनुसार राष्ट्रिय गौरवको आयोजना, विकासको पूर्वाधार निर्माण र जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउने रचनात्मक कार्यक्रम भएको उल्लेख गरे । त्यसमा सबै प्रतिपक्ष दललाई सहयोग गर्न उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस