काठमाडौं । केन्द्रीय कारागार कार्यालयले 'सिरियल किलर' चार्ल्स शोभराज बिहिबार कैदमुक्त भए पनि आज मात्रै अध्यागमन विभागलाई बुझाउने भएको छ। केन्द्रीय कारागार जगन्नाथदेवल सुरक्षा स्रोतका अनुसार उनलाई आज १० बजेपछि अध्यागमन विभागमा बुझाउने तयारी गरिएको हो।
शोभराजका वकिल वरिष्ठ अधिवक्ता गोपाल शिवाकोटीका अनुसार कागजातमा हस्ताक्षर गर्नुपर्ने लगायतको सबै काम बिहिबारनै सकिएकाले आज १० बजेपछि अध्यागमन पठाउन लागिएको हो।
‘अध्यागमन विभागमा उनलाई राख्नका लागि व्यवस्थापन नभएकाले आज मात्रै उता पठाउने भएको हो। जेलबाट मुक्त भने हिजै भइसक्नुभयो’, उनले भने, ‘बिहिबार एक दिन उहाँ केन्द्रीय कारागारमै बस्नु नत भन्दा उहाँले पनि अँ म बस्छु भनेपछि यही राखियो। अध्यागमनलाई पनि ढिलो गरी खबर भयो। बिरामी पनि हुनुभएको कारणले त्यसको व्यवस्थापन गर्नुपर्ने भएको हो।’
१९ वर्षदेखि कैद सजाय काटिरहेका फ्रेन्च नागरिक चार्ल्स शोभराजलाई ९बुधबार० छोड्न र १५ दिनभित्र देश फर्काउन भन्दै सर्वोच्च अदालतले आदेश दिएपछि उनी छुटेका हुन्। शोभराजलाई कैदबाट छाडेर १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउन भनेकाले अध्यागमन विभागलाई बुझाउन लागिएको कारागार कार्यालयले जनाएको छ।
बुधबार सर्वोच्चले ‘अन्य मुद्दामा थुनामा राख्न नपर्ने भए आजै छोड्नू र १५ दिनभित्र आफ्नै देश पठाउने व्यवस्था गर्नू’ भन्ने आदेश गरेको थियो। अन्य मुद्दामा कैद बस्न पर्ने नपर्ने यकिन गर्न कारागार, काठमाडौं र भक्तपुर जिल्ला अदालतलाई सर्वोच्च प्रशासनले बुधबारनै चिठी लेखेको थियो।
बिहिबार दुवै अदालतले लगत काटेर पठाएका थिए। शोभराजले ४७ वर्षअघि काठमाडौं र भक्तपुरमा अमेरिकी र क्यानडेली नागरिकको हत्या गरेको अभियोगमा १९ वर्षदेखि कैद काटिरहेका छन्। २०८० सालसम्म कैद सजाय पाएका उनलाई १९ वर्ष जेलमा बसिसकेको, मुटुरोगी भएको र ७८ वर्षका वृद्ध भइसकेको त्यसमाथि मानवअधिकारको मापदण्ड विपरित कैदभित्र पनि एकान्तवासमा राखिएको भन्दै अदालतले छोड्न आदेश दिएको हो।
कैदमुक्त भए पनि शोभराज अध्यागमनकै निगरानीमा हुने देखिएको छ। अध्यागमन विभागले पनि उनलाई निगरानीमै राखेर जतिसक्दो चाँडो फ्रान्स पठाउने बताएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ पुस २०७९, ०९ : ०७
लेखकबाट थप