सिरियाको संकट

सात वर्षमा चार लाख मान्छे मरे, पचास लाख बिस्थापित

एजेन्सी

बुधबार, १३ असार २०७५, १४ : ५२
सात वर्षमा चार लाख मान्छे मरे, पचास लाख बिस्थापित

लेबनान : सिरियाको दक्षिणी क्षेत्रमा भएको हवाई तथा स्थल आक्रमणबाट जीवन जोगाउनका लागि पछिल्ला केही दिन यता करिब ४५ हजार सर्वसाधारण विस्थापित भएका राष्ट्रसंघले मङ्गलबार जनाएको छ । उक्त क्षेत्रमा द्वन्द्वका कारण यति ठूलो सङ्ख्यामा नागरिकहरू विस्थापित बनेको यो पहिलो घटना भएको राष्ट्रसंघले जनाएको छ ।
 रूसी सहयोगमा सिरियाली सरकारी फौजले विद्रोही नियन्त्रित दक्षिणी क्षेत्र खासगरी दारा प्रान्तमा हवाई तथा स्थल आक्रमण गरेको थियो । हामीले करिब ४५ हजार मानिस विस्थापित बनेका अनुमान गरेका छौँ सङ्ख्या यो भन्दा बढी पनि हुनसक्छ , राष्ट्रसंघ मानवीय समन्वय कार्यालय (ओसिएचए) का प्रवक्त्ता लिन्डा टोमले बताउनुभयो । “दक्षिणी क्षेत्रमा सरकारी फौज र प्रतिपक्षी समूहबीच भएका भीडन्तका कारण विस्थापित हुने क्रम पछिल्ला केही दिनमा ह्वात्तै बढेको छ,” टोमले भन्नुभयो ।
प्रवक्ता टोमले एएफपीलाई भन्नुभयो, “पछिल्ला दुई दिनमा हामीले ठूलो सङ्ख्यामा नागरिकहरू विस्थापित बनेको देखेका छौँ । सरकारी फौजले गरेको हवाइ आक्रमण र स्थल आक्रमणका कारण स्थानीय नागरिकहरू ठूलो सङ्ख्यामा भागेर सुरक्षाका लागि अन्यत्र गएको देखिएको छ ।” विस्थापित बनेका अधिकांश पूर्वीभाग दाराको बाटो हुँदै जोर्डनी बन्द सीमानातर्फ भागेका छन् । जोर्डनले शरणार्थी राख्न नसक्ने भन्दै केही महिना पहिले सिरियासँगको आफ्नो सिमाना बन्द गरेको थियो । “हामीले यस पहिले दारामा यो हदमा विस्थापित बनेको देखेका थिएनौ,” ओसिएचए प्रवक्ताले बताउनुभयो ।
संयुक्त राष्ट्रसङ्घले यस पहिले पनि सिरियाली सरकारी फौज र प्रतिपक्षी समूहबीच लडाई चर्केको स्थानमा करिब सात लाख ५० हजार जनसङ्ख्या रहेको र द्वन्द्वबाट उनीहरूको जीवन खतरामा परेको चेतावनी दिइसकेको थियो । सिरियामा सन् २०११ मा शुरु भएको द्वन्द्वका कारण अहिलेसम्म करिब चार लाख मानिसको ज्यान गएको र ५० लाख मानिस विस्थापित भएको विभिन्न मानवअधिकारबादी समूहले बताउँदै आएका छन् । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस