रानी पोखरी पुननिर्माण : खर्च ३ करोड, काम शुन्य

सफल खबर संवाददाता

शनिबार, ०९ असार २०७५, १७ : १४
रानी पोखरी पुननिर्माण : खर्च ३ करोड, काम शुन्य

काठमाडौं । महाभूकम्प गएको तीन बर्ष बितिसक्दा पनि ऐतिहासिक र पुरातात्विक महत्वको रानी पोखरीको पुननिर्माण हुन सकेको छैन ।
रानी पोखरी पुननिर्माणको नाममा करिब ३ करोड रुपैया खर्च भईसकेको छ । तर अहिलेसम्म पुनर्निर्माणको काम भने सुरु हुन सकेको छैन । संरचना बनाउने, भत्काउने दुवै अपरिपक्क र अदूरदर्शी निर्णयका कारण उक्त रकम नोक्सानी भएको छ ।  १८ महिनाअघि देखि निर्माण कार्य भइरहेको रानीपोखरीमा आधुनिक निर्माण सामग्री प्रयोग भएको भन्दै चौतर्फी विरोध भएपछि बाहिरी घेरामा लगाइएको आधुनिक कंक्रिड पर्खाल भत्काइएको हो ।

रानी पोखरीको बाहिरी घेरामा कंक्रिड वाल लगाउन मात्रै २ करोड ३० लाख रुपैया“ खर्च भएको महानगरले जनाएको छ । आधुनिक शैलीमा बनाउ“दा रानी पोखरीको पुरातात्विक  र परम्परागत शैली मासिएको भन्दै चौतर्फी विरोध भएपछि सो पर्खाल भत्काईएको हो । पर्खाल भत्काउन र कंक्रिड हटाउन महानगरले १६ लाख रुपैया“मा चक्रदेव कन्स्ट्रक्सनलाई जिम्मा दिएको थियो । भत्काउने र त्यसलाई सफा गर्ने जिम्मा लिएको कम्पनीले  ९५ प्रतिशत काम सकिएको बताएको छ ।

रानीपोखरी पुननिर्माणका लागि महानगरपालिकाले वल्डवाईड क“डेल के एन केजी जेभीलाई करिब ७ करोड रुपैया“मा ठेक्का दिएको थियो । पोखरीको बाहिरी घेरामा लगाइएको आधुनिक पर्खाल भत्काएपछि सो कम्पनीले क्षतिपुर्तिको माग गर्दै महानगरपालिकाविरुद्ध मुद्दा दायर गरेको छ  । सो मुद्दा अहिले विचाराधीन छ । आधुनिक पर्खाल भत्काएर त्यसलाई सफा गर्ने काम केही दिनभित्र सम्पन्न भए पनि त्यसपछिको पुननिर्माण के कसरी गर्ने भन्ने स्पष्ट नभएका कारण रानीपोखरीको पुननिर्माण कहिले भन्ने जिज्ञासा यथावत रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस