काउन्टरमा बसको टिकट पाउनै नसकेको यात्रुको गुनासो

सफल खबर संवाददाता

शनिबार, १५ असोज २०७९, १६ : ०३
काउन्टरमा बसको टिकट पाउनै नसकेको यात्रुको गुनासो

काठमाडौँ । बडादसैँमा घर फर्किने यात्रुले बसको टिकट नै पाउन नसकेको गुनासो गरेका छन्। काठमाडौँको नयाँबसपार्कस्थित टिकट काउन्टरमा शनिबार भेटिएका उनीहरूले घर जानका लागि बसको टिकट नै नपाएको दुःखेसो पोखेका हुन्। ५ दिन धाउँदा पनि बसको टिकट नपाएको डोटीका हरि बिसीको गुनासो छ। उनले बस व्यवसायी र प्रहरीले आफन्तलाई टिकट बाँड्ने गरेकाले पनि सर्वसाधारणले टिकट पाउने अवस्था नरहेको प्रतिक्रिया दिए।

कैलालीका कृष्ण टमाटाले बसको टिकट नपाएका कारण दसैंमा घर जानै नसकिने अवस्था आएको बताए। उनले सरकारले टिकटको आवश्यक व्यवस्था नमिलाएर सर्वसाधारणलाई दुःख दिएको भन्दै आक्रोशसमेत व्यक्त गरे।

केही यात्रु भने टिकट नपाए पनि बसको क्याबिनतिर बसेर घर जाने तयारीमा थिए। टिकट पाउनै गाह्रो भएकाले क्याबिनतिर बसेर घर जाने तयारीमा आफू रहेको नेपालगञ्जकी दिलमाया खत्रीले बताइन्। उनले बसको टिकट पाउने अवस्था नरहेको र आफूहरूले दुःख पाएको प्रतिक्रिया दिइन्।

बस व्यवसायीले दोब्बर मूल्य भाडा लिएर रिजर्भमा पनि यात्रु ओसार्ने गरेको तर टिकट भने नदिएकोमा यात्रुहरूको चर्को गुनासो छ। उनीहरूले सरकारले दशैंमा घर जानेहरूलाई बसको टिकटका लागि आवश्यक व्यवस्था नमिलाएको आक्रोशसमेत व्यक्त गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस