महाधिवेशनमा हारेकाले फुटको हल्ला चलाए, पार्टी एकढिक्का छ : माधवकुमार नेपाल

सफल खबर संवाददाता

सोमबार, ०५ कार्तिक २०८१, १५ : ४८
महाधिवेशनमा हारेकाले फुटको हल्ला चलाए, पार्टी एकढिक्का छ : माधवकुमार नेपाल

रुपन्देही । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको चर्चा चलाएर विरोधीहरू आत्मरतिमा लागेको टिप्पणी गरेका छन् । लुम्बिनी प्रदेशस्तरीय भेलालाई कपिलवस्तुमा सोमबार सम्बोधन गर्दै नेता नेपालले विरोधीहरूले चलाएका अफवाहबाट निराश नहुन आग्रहसहित समाजवादी अभियानलाई साथ दिन देशभरबाट साथ समर्थन भइरहेको दाबी गरे ।

‘पदाधिकारीमा आकांक्षी धेरै भएकाले विकल्पमा निर्वाचन भयो, आफ्नै राजीखुसीले प्रक्रियामा भाग लिने र नसकेपछि गलत हल्ला चलाउने गीत गाउने काम भएको छ, यस्ता स्वार्थी व्यक्तिहरू गएपनि पार्टीले सामना गरेर अघि जानुको विकल्प छैन’, उनले भने ।

कम्युनिष्ट आन्दोलनको इतिहास बचाउनका लागि आफ्नो पार्टी गठन भएको र यसको औचित्य पूरा भइरहेको उनले बताएका छन् । ‘पार्टी गठनको औचित्य पूरा हुँदै गएको छ, जुन उद्देश्यका लागि हामीले पार्टी बनाएका थियौं, त्यो पूरा भइरहेको छ, हामी हल्लाको पछि लागेर हिँड्ने होइन, हाम्रो पार्टीले नेपाली राजनीतिमा गरेको योगदानको चर्चा भएको छ’, नेपालले भने ‘पार्टी विलीन हुन लागेको अनर्थ चर्चा हो, एमालेमा विलीन हुने, माओवादीमा विलिन हुने हल्ला चलाइएको छ, त्यो बेकारको हल्ला हो, हामी आफ्नो अस्तित्वमा चलिरहेका छौँ, यो हामीलाई कमजोर बनाउनेहरूको हल्ला हो, आत्मरति हो, कागले कान लग्यो भनेर नदौडिनुस् कान छाम्नुस् ।’

नेता नेपालले अहिले पनि देशका विभिन्न स्थानमा आफ्नो पार्टीमा प्रवेश गरिरहेकाले निराश नहुन कार्यकर्तालाई आग्रह गरेका थिए । ‘अन्य प्रदेशमा एमाले, माओवादी, जसपा, राप्रपा छाडेर नेकपा एसमा आउनेक्रम छ, अब यहाँ पनि त्यो अभियानमा लाग्नुस्, लुम्बिनीमा किन कमजोर छ भनेर आत्मसमीक्षा गर्नुहोस्, यति धेरै संख्यामा केन्द्रका नेताहरू हुनुहुन्छ’, उनले भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले पार्टीको हरेक जिम्मेवारीमा रहेका नेताहरूले जनतालाई चित्त बुझाउने काममा अघि बढ्न आग्रह गरे । पार्टीको महाधिवेशनमा पराजित भएकाहरूले अहिले पार्टीविरुद्ध गलत प्रचार गरिरहेको उनको आरोप छ ।