सरकार भ्रष्टाचारी र बिचौलियालाई जोगाउने काममा लागेको देखियो : प्रभु साह

सफल खबर संवाददाता

बुधबार, ०७ कार्तिक २०८१, १३ : १४
सरकार भ्रष्टाचारी र बिचौलियालाई जोगाउने काममा लागेको देखियो : प्रभु साह

काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको १०० दिन सत्ताको दुरुपयोगमै सीमित भएको टिप्पणी गरेका छन् । ओली सरकार विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने काममै सीमित रहेको उनको आरोप छ । 

बुधबार काठमाडौंमा आज आयोजित एक कार्यक्रममा साहले ओली नेतृत्वको सरकार जनताको आवश्यकता र चाहना अनुसार काम गर्न नसकेर असफल भएको दाबी गरे ।  वर्तमान सरकार विपक्षी दलहरूलाई तर्साउने र फुटाउने खेलमा लागेको पनि उनले आरोप लगाए ।

‘यो सरकार भ्रष्टाचारी र बिचौलियालाई जोगाउने काममा लागेको देखियो । विकास होइन उल्टै जनतालाई ऋण बोकाउने काममा लागेको देखियो । बाढी, पहिरोलगायतका प्राकृतिक विपत्तिमा सरकार राहत नभनेर पीडित जनताको लागि नै बोझ बनेको देखियो । जनतालाई उत्साहभन्दापनि निराशा बनाउने काम गर्‍यो । देशलाई स्थिरता नभएर अराजकतातर्फ लैजाने काम भयो । सरकारको एक सय दिनमा प्लस खासै छैन, माइनस बढी छ । नकारात्मक बढी छ’ साहले भने । 

वर्तमान सरकारको काम विपक्षीहरूलाई तर्साउन र झुटा मुद्दा लगाउनेमा केन्द्रित भएको बताउँदै उनले गौर हत्याकाण्डका दोषीहरू खुलेआम घुम्दा सरकारले उनीहरूलाई संरक्षण दिएको पनि बताए । 

प्रधानमन्त्री ओलीले आफ्नो पार्टी कार्यालय मदननगरमा नबनाउनुको भनेको मदन भण्डारीको अपमान गर्ने काम भएको समेत उनले टिप्पणी गरे। एमालेको हाल मदननगरमा भएको जग्गा पनि अहिले कीर्तिपुरमा मीनबहादुर गुरुङबाट दानमा पाएको जग्गाभन्दा कम नभएको साहको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस