काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार नियन्त्रण गर्न वर्तमान सरकार त्यागको भावना बोकेर अघि बढेको बताएका छन्। सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार न्यूनीकरण सम्बन्धी पाँच बर्षे रणनीतिक कार्ययोजनाको मस्यौदा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई बाँकेमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले भ्रष्टाचार नियन्त्रण सम्बन्धी पाँच बर्षे रणनीतिक योजनालाई कडाइ पूर्वक कार्यान्वयन गरिने समेत बताए।
‘सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न आँट गर्न सक्नुपर्छ । त्यसको सुरुवात गरेका छौँ,’ ‘उनले भने, ‘एक पटक मुख्यमन्त्री भएपछि, एक पटक सभामुख भएपछि पूर्व विशिष्टको नाममा सेवा सुविधा दिने निर्णय थियो त्यो निर्णय उल्टायौँ। त्यागको भावना बोकेर यो सरकार अगाडी आएको छ । जनताबाट उठाएको करबाट सेवा सुविधा लिनु राम्रो होइन।’
प्रदेश सरकार सुशासन कायम गर्न कठोर भएर अगाडी बढेको बताउँदै मुख्यमन्त्री र मन्त्रिहुलाई आचारसंहिता लागु गरेर नयाँ सुरुवात गरेको समेत स्पष्ट पारे । विवाह भोज पूजा जस्ता व्यक्तिगत निमन्त्रणमा सरकारी गाडी प्रयोग नगर्न मुख्यमन्त्रीले निर्देशन दिए ।
पाँच बर्षे रणनीतिक योजनामा सुशासन कायम गर्न तथा भ्रष्टाचार नियन्त्रणका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय अनुगमन संयन्त्र निर्माण गर्ने विषयलाई उच्च प्राथमिकतामा राखिएको उनले बताए ।
व्यावसायिकता अभिवृद्धि, सार्वजनिक सेवा प्रवाह, वित्तीय अनुशासन, आयोजना कार्यान्वयन, कानुन तर्जुमा तथा कार्यान्वयन, पारदर्शिता, सामाजिक जबाफदेहिता तथा उत्तरदायित्व प्रवर्द्धन, सार्वजनिक खरिद व्यवस्थापन, सार्वजनिक सम्पत्ति व्यवस्थापन, अनुगमन तथा मूल्यांकन, समन्वय, सहकार्य तथा साझेदारीलाई विषयगत क्षेत्रलाई आधार मानेर रणनीति र कार्यनीति प्रस्ताव गरिएको उनले बताए।
सार्वजनिक प्रशासनका सबै क्षेत्रहरूमा नैतिकता प्रवर्द्धन गरी निष्पक्ष, पारदर्शी, जबाफदेही, मितव्ययी तथा जनउत्तरदायी रूपमा शासकीय क्रियाकलापहरू सञ्चालन गर्ने योजना बनाइएको मुख्यमन्त्रीको दाबी छ।
कार्यक्रममा दाङ, बाँके र बर्दिया जिल्लाका प्रदेश सभा सदस्य, स्थानीय तह तथा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षहरूको सहभागिता थियो । कार्यक्रममा प्रदेश सचिव कृष्ण पौडेलले शुसान प्रवर्द्धन तथा भ्रष्टाचार न्यूनिकरणबारे पाँच वर्षे रणनीतिक कार्ययोजनाको प्रस्तुति राखेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ कार्तिक २०८१, १३ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीमा प्रदेश प्रमुखले फिर्ता पठाएका विधेयक पुनः सर्वसम्मत पारित
लुम्बिनी प्रदेश सभा बैठक बस्दै
कर्णाली र लुम्बिनी प्रदेशबीच १९ बुँदे साझा प्रतिबद्धता
प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक अगाडि बढाउने तयारी
‘गाउँ फर्क’ अभियान चलाउनुपर्ने अवस्था आयो: मुख्यमन्त्री आचार्य
लुम्बिनीमा खुलेर लगानी गर्न मुख्यमन्त्री आचार्यको अपिल