काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले स्थानीय तहहरुलाई बजार अनुगमन गर्न आग्रह गरेका छन। शनिबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीमा स्थापना गरेको चाँडवाँड लक्षित सुपथ मूल्य पसलको उद्घाटन गर्दै मन्त्री बडूले स्थानीय तहहरुलाई प्रभावकारी रुपमा बजार अनुगमन गर्न आग्रह गरेका हुन ।
उनले दशैँ, तिहार, छठ लगायतका चाडपर्वहरु आइरहेको र चाँडपर्वको बेलामा बजारमा अस्वभाविक रुपमा मूल्यवृद्धि हुने भएकाले तिनै तहको सरकारले बजार अनुगमन गर्नुपर्ने बताए । उनले मन्त्रालयले जनशक्ति बढाएर अनुगमन बढाइरहेको भएपनि मन्त्रालयको एकल प्रयास मात्र सम्भव नहुने बताए।
उनले बजार अनुगमनका लागि प्रदेश र स्थानीय तहको अधिकार बढेको भएपनि ति तहहरुबाट अपेक्षित र प्रभावकारी रुपमा अनुगमन हुन नसकेको बताए । मन्त्री बडूले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई आफ्नो सम्पतिको यथार्थ अभिलेखिकरण राख्न निर्देशन दिए। उनले कम्पनीको सम्पतिलाई सदुपयोग गर्दै जनतालाई सस्तो सेवा दिन पनि निर्देशन गरे ।
मन्त्री बडूले चाडपर्व लक्षित सुपथ मूल्य पसलमा बिक्रि वितरण गर्ने खाद्यवस्तुको संख्या र सहुलियत बढाएको बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४१ जिल्लाका ४५ वटा शाखाहरुमा एकै पटक सुपथ मूल्य पसल उद्घाटन भएर सञ्चालनमा आएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ असोज २०७९, १६ : ३२
लेखकबाट थप