नेवाः सम्पदा संरक्षण गरेर पर्यटक आकर्षित गर्नुपर्छ : मन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

बुधबार, ०८ भदौ २०७९, १९ : २८
नेवाः सम्पदा संरक्षण गरेर पर्यटक आकर्षित गर्नुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले राजधानीको नेवाः संस्कृति र सम्पदा संरक्षण गरेर बढीभन्दा बढी पर्यटक भित्र्याउन वर्तमान सरकार लागिपरेको बताएका छन् ।

नेवार समुदायको राष्ट्रिय सङ्गठन नेवाः देय् दबुले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रबाट स्वयम्भू दरबार क्षेत्र जाने दुई दशमलव दुई किमी सम्पदा ट्रेल निर्माण गरी पर्यटक आकर्षित गर्न लागिएको बताए।

राजधानीमा रात्रिकालीन पर्यटन प्रवद्र्धन, मूर्त, अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको उनले सुनाए। शङ्खधर साख्वा राष्ट्रिय पुरस्कार स्थापनाका लागि सहयोग गर्ने प्रतिबद्धता पनि कार्यक्रममा मन्त्री श्रेष्ठले जनाए। “काठमाडौँ शहरको कला, संस्कृति र सम्पदाको जगेर्नाका साथसाथै यससँग आबद्ध स्थानीय समुदायको आयआर्जन हुने उपाय पहिल्याउने प्रयासमा लागेको छु,” उनले भने।

सो अवसरमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले संविधानमा भएको व्यवस्थाअनुसार स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्र खडा गर्ने प्रस्तावलाई आफूले अघि बढाएको जानकारी दिँदै अहिले अर्थ मन्त्रालयमा त्यो प्रस्ताव विचाराधीन रहेको बताए।

प्रतिक्रिया दिनुहोस