साँझ परेपछि विप्लवका कार्यकर्ता पक्राउ, जिल्ला इञ्चार्ज भाग्न सफल

आइतबार, २७ जेठ २०७५, १४ : ०६
साँझ परेपछि विप्लवका कार्यकर्ता पक्राउ, जिल्ला इञ्चार्ज भाग्न सफल

चितवन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक जना कार्यकर्तालाई प्रहरीले शनिबार साँझ भरतपुरबाट पक्राउ गरेको छ । सँगै रहेका जिल्ला इञ्चार्ज लालबहादुर बीसी भने प्रहरीको घेरा तोडेर भाग्न सफल हुनु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, विगतका समयमा चितवन जिल्लामा हिंसात्मक गतिविधिमा संलग्न नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का कार्यकर्ताहरुको खोजतलास गर्ने क्रममा शनिबार बेलुकी भरतपुर महानगरपालिका वडा नम्बर ९ शरदपुरमा चेकजाँच गर्ने क्रममा वीरबहादुर तामाङलाई पक्राउ गरिएको हो । ना ५ प ८९३ नम्बरको मोटरसाईकल रोक्दा मोटरसाइकल पछाडि नेकपा चितवन जिल्ला इञ्चार्ज लालबहादुर बीसीलाई देखेपछि प्रहरी जवान ईशुमिया धोवीले नियन्त्रणमा लिएपछि मोटरसाइकल चालक २४ वर्षीय वीरबहादुर तामाङले अचानक ईट्टा टिपी प्रहरी जवान धोवीको टाउकोमा प्रहार गरी घाइते बनाएपछि बीसी भाग्न गएको प्रहरीको भनाइ छ ।
विप्लव कार्यकर्ता तामाङलाई घाइते अवस्थाका प्रहरी जवान धोवीले नियन्त्रणमा लिन सफल भएको र तत्काल थप मद्दत खटिई भागी लुक्न सक्ने सम्भावित स्थानहरुमा सर्च गर्दा बीसीले बोकेको झोला फेला परेको, झोलामा ल्यापटप, नगद रुपैयाँ, मोबाइल र नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) सम्बन्धी दस्तावेज लगायतका कागतपत्र फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नु भएका तामाङलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले बताउनु भयो । उहाँका अनुसार प्रहरीले नगद ९५ हजार रुपैयाँ, ल्यापटप १ थान, मोबाईल ५ थान, एक्स्ट्रा मोबाईलको सिम ३ थान, नेपाल कम्युनिष्ट पार्टी सम्बन्धी दस्तावेजहरु, विभिन्न लिखत र चेक बरामद गरिएको छ ।
यसैबीच, नेकपा चितवनले जिल्ला इन्चार्ज लालबहादुर बिसीसहितको कार्यालय टीममाथि प्रहरीले शनिबार राति आक्रमण गरी नगदसहित कार्यालयका सम्पूर्ण सामानहरु कब्जामा लिएको जनाएको छ । कार्यालय अर्को ठाउँमा सार्दै गर्दा प्रहरीले हस्तक्षेप गरेको इन्चार्ज बिसीले बताउनु भयो । जिल्ला इञ्चार्ज बीसीले कार्यालय सार्दै गर्दा प्रहरीले चारैतिरबाट घेरा हालेर एक जना कार्यकर्ता बिरु तामाङ सहित सामान कब्जामा लिएको बताउनु भयो ।
नेकपा जिल्ला इन्चार्ज बीसीका अनुसार, प्रहरीले नगद एक लाख रुपैयाँ, ल्यापटप एक थान, मोवाइल ६ थान, मोटरसाइलक एक थान, बीसीका कपडा चार जोर, किताब ५ वटा, कापी र डायरी ८ थान, दैनिक उपभोग गर्ने सामान कब्जामा लिएको छ । आफ्नो कार्यालयमामाथि प्रहरीले युद्ध शैलीबाट आक्रमण गरेको आरोप लगाउँदै बीसीले आपत्ति जनाउनु भएको छ । गिरफ्तार तामाङसँगै कब्जामा लिएका सम्पूर्ण सामानहरु फिर्ता गर्न बीसीले माग गर्नुभयो । प्रहरीसँग भएको झडपमा इञ्चार्ज बीसी गम्भीर घाइते हुनु भएको नेकपा चितवनले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस