काठमाडौँ। नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले अहिलेको सत्तारुढ दलहरू जनताविरुद्ध गएको आरोप लगाएका छन्।
शुक्रबार पोखरामा पत्रकारसँग भेटघाट कार्यक्रममा उनले अहिलेको सरकार वामपन्थीहरू तोड्न दक्षिणपन्थी मिल्न नपाउने बताए। उनले राजनीतिक पार्टी चुनावअघि जनतामाझ लगेका घोषणापत्र कार्यान्वयन गर्नमा नलागेको बताए।
अध्यक्ष बिजुक्छेले चुनावमा गठबन्धन गर्नुभन्दा पहिले चुनाव घोषणापत्र आवश्यक रहेको बताए। उनले चुनावलाई कसरी लैजाने? देशमा ती पार्टीको बहुमत आयो भने सरकारमा गयो भने के काम जनताका निम्ति गर्ने? देशको निम्ति गर्ने त्यो, स्पष्ट भाषामा आउन जरुरी रहेको बताए। उनले अहिलेका कम्युनिष्ट पार्टीहरू जनताको अभिमतलाई कुल्चिएर, जनताको आदेशलाई उल्लंघन गरेर कहिले कांग्रेससँग र कहिले राप्रपासँग मिल्ने गरेको भन्दै यो सिद्धान्तविपरी कुरा भएको बताए।
उनले भने, ‘हाम्रा राजनीतिक पार्टीलाई के भन्छु भने चुनावमा गठबन्धन गर्नुभन्दा पहिले चुनाव घोषणापत्र आवश्यक छ। यो चुनावलाई कसरी लेजाने? देशमा ती पार्टीको बहुमत आयो भने सरकारमा गयो भने के काम जनताका निम्ति गर्ने? देशको निम्ति गर्ने त्यो, स्पष्ट भाषामा आउनुपर्छ। अर्को कुरा घोषणापत्रमा एउटा लेखेर आफ्नो सरकार नयाँ आएपछि ठ्याक्कै नमिल्ने, वामपन्थीहरू तोड्न दक्षिणपन्थीसँगको सरकार बनाउन पाउँदैन। सिद्धान्तले दिँदैन। घोषणापत्रभन्दा बाहिर जानु हुँदैन। त्यसको मुख्य कारण के हो भने जनताले हामीलाई मत दिनु भनेको हाम्रो घोषणापत्र ठीक छ, योअनुसार काम गर भनेको हो। त्यो जनताको आदेश हो। जनताको आदेश उल्लंघन गरेर यी राजनीतिक पार्टीले कांग्रेससँग पनि मिल्ने, राप्रपासँग पनि मिल्ने, जुनसँग पनि मिल्ने यो सिद्धान्त दूषित कुरा हो। यसले देशलाई अघि लैजाँदैन। यो गलत हो। त्यसकारण घोषणापत्र पहिला बनाएर त्यही आधारमा चुनाव लड्नुपर्छ। जनताले मत दिएपछि घोषणापत्रअनुसार काम गर्नुपर्छ।’
अध्यक्ष बिजुक्छेले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्ष्य गर्दै सत्ता सञ्चालनको कुरा दिल्लीमा नभई जनताको बीचमा हुनुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० साउन २०७९, १९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसरी सानोको कपडा ठूलो भएपछि काम लाग्दैन, त्यसरी नै गइसकेको राजतन्त्र फर्कँदैन : बिजुक्छें