नागरिकता सम्बन्धी विधेयक राष्ट्रिय सहमति गरेर पारित गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

सफल खबर संवाददाता

शुक्रबार, ०६ साउन २०७९, १९ : ५१
नागरिकता सम्बन्धी विधेयक राष्ट्रिय सहमति गरेर पारित गर्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागरिकता सम्बन्धी विधेयक राष्ट्रिय सहमति गरेर पारित गर्नुपर्ने बताएका छन् । शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री खनालले सरकारले ल्याएको विधेयकमा केही गम्भीर प्रश्नहरु रहेको भन्दै राष्ट्रिय सहमति हुनु अत्यावश्यक रहेको बताए ।

उनले ऐन बनाउँदा कुनै कमजोरी हुनु नहुने पनि बताए । उनले नागरिकता सम्बन्धी विधेयकमा प्रतिपक्ष दलको असहमति रहेको उल्लेख गर्दै विवादको बीचमा पारित हुने खतरा रहेको बताए । पूर्वप्रधानमन्त्री खनालले सो विधेयक पारित भएमा देशमा दुई खालको जनमत बन्ने खतरा रहेको औँल्याए ।

उनले भने, ‘नागरिकताको सम्बन्धमा हामीले ऐन बनाउँदा कुनैपनि ढंगले लुज काम गर्नु हुँदैन । हामीले लुज कुराहरु ग¥यौँ भने हाम्रो देशको सामाजिक संरचना क्रमिक रुपले बद्लिने, नकारात्मक ढंगले बद्लिने खतराहरु हुन्छन् । यो कुरालाई ध्यानमा राखेर नेपालका राजनीतिज्ञहरुले, नेपालका पार्टीहरुले गम्भीरतापूर्वक ध्यान दिनुपर्छ । अहिले जुन प्रकारले नागरिकता विधेयक आएको छ । यसमा केही गम्भीर प्रश्नहरु छन् । यस्ता कुराहरुमा राष्ट्रिय सहमति हुनु अत्यावश्यक छ ।’

उनले फेरि भने, ‘राष्ट्रिय सहमति भएको मैले देखिनँ । प्रतिपक्षले असहमति राखिरहेको छ । सरकार पास गर्नका लागि तयारी गरिरहेको छ । यो सहमतिको विधेयक हुने देखिन । यो विवादको बीचमा पास हुने खतरा छ । यसरी विधेयक पास भयो भने यसले सर्लक्कै देशमा दुई खालको जनमत बन्ने खतरा छ । नागरिकता जस्तो सवाल राष्ट्रिय सहमतिको सवाल हो । यो खालि बहुमतको सवाल होइन ।’

प्रतिक्रिया दिनुहोस