मैले आफैंलाई माफ गर्ने अधिकार मसँग छ : ट्रम्प

मंगलबार, २२ जेठ २०७५, १३ : २८
मैले आफैंलाई माफ गर्ने अधिकार मसँग छ : ट्रम्प

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफैंलाई माफी दिने विषयलाई सोमवार सही ठह–याएका छन् । उनले त्यसक्रममा राष्ट्रपतीय निर्वाचनमा रुसको सम्भावित संलग्नतामाथिको अनुसन्धानको आलोचना गरे ।

उनले ट्विटरमा लेखे, ‘कानून विशेषज्ञहरूले भनेअनुसार, मैले आफैंलाई माफी दिने मसँग पूरा अधिकार छ । तर म यसो किन गरूँ जबकि मैले केही गलत गरेको छैन ?’
उनले लेखे, ‘यसैबीच १३ जना डेमोक्रेटहरूको नेतृत्वमा कहिल्यै नसकिने बोक्सी लखेटाइ जारी छ ।’

ट्रम्पका वकिल रुडी गिउलियानीले राष्ट्रपतिलाई सम्भवतः आफैंलाई माफी दिने शक्ति भएको तर यसो गर्दा कठोर राजनीतिक परिणाम निस्कने आइतवार बताएका थिए ।

रुसको हस्तक्षेपको जाँच गरिरहेका विशेष अनुसन्धानकर्ता रोबर्ट मुलरलाई लेखिएको पत्रमा ट्रम्पका वकिलले तर्क दिएअनुसार, उनले चाहेको भए जनवरीमा अनुसन्धान अन्त्य गर्ने थिए वा आफैंलाई माफी दिने शक्ति प्रयोग गर्थे ।-बीबीसी

प्रतिक्रिया दिनुहोस