काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आइतबार शिष्टाचार भेट भएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले लामो अनुभव र महत्त्वपूर्ण जिम्मेवारी बहनको अनुभवसहित नेपालको राजदूतमा नियुक्त श्रीवास्तवको कार्यकाल दुई देशबीचको सम्बन्धलाई गुणात्मक उचाइमा पुर्याउन सफल हुने विश्वास गरे ।
नेपाल र भारतबीच मौलिक एवं बहुआयामिक सम्बन्ध रहेको चर्चा गर्दै सभामुख सापकोटाले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वर्ष र भारतले आफ्नो स्वतन्त्रताको ७५ औं वर्ष मनाइरहेको सन्दर्भ स्मरण गरेका थिए । उनले नेपाल र भारतबीच सदियौंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध रहेको चर्चा गर्दै दुई देशका जनताबीचको सम्बन्ध अझ गहिरो रहेको धारणा राखे ।
सभामुख सापकोटाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो लुम्बिनी भ्रमणले धार्मिक पर्यटनमा ठूलो योगदान पुर्याएको र नयाँ अध्यायको सुरुआत गरेको बताए । दुवै देशबाट भएका उच्चस्तरीय भ्रमणले नेपाल-भारत सम्बन्धलाई थप बलियो बनाएको उनको भनाइ थियो ।
भेटमा सभामुख सापकोटाले कोभिड–१९ को महामारीका बेला भारतले आफू त्यसविरुद्ध जुधिरहँदा समेत नेपाललाई स्वास्थ्य सामग्री र खोप उपलब्ध गराउँदै एउटा छिमेकीको मात्रै नभएर मानवीयता प्रदर्शन गरेको भन्दै धन्यवाद ज्ञापन गरेका थिए ।
उनले जलवायु परिवर्तन लगायत विश्व राजनीतिक मञ्चमा देखा परेका संकट समाधानमा दुवै देशले साझा समझदारी बनाउनु उपयुक्त हुने धारणा राखेका थिए । ‘विश्व शान्तिका लागि मिलेर अघि बढ्नु पर्छ’ सभामुख सापकोटाले भने । उनले भारतको लोकतान्त्रिक अभ्यासबाट नेपालले सिक्न चाहेको भन्दै दुवै देशका राम्रा अभ्यास आदान प्रदान गर्न सकिने पनि बताएका थिए ।
यस क्रममा सभामुख सापकोटाले नेपालमा रासायनिक मल अभावले नेपाली किसान निकै चिन्तित रहेको स्मरण गराउँदै मलको विषयलाई महत्त्व साथ उल्लेख गर्न चाहेको बताए ।
सभामुख सापकोटासँगको भेटमा नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले ‘छिमेकी पहिलो नीति’ रहेको चर्चा गर्दै आठ वर्षमा पाँच पटक प्रधानमन्त्रीको तहबाट नेपाल भ्रमण भएको स्मरण गरे ।
लामो र ऐतिहासिक सम्बन्ध रहेको दुवै देशबीच सहकार्यका थुप्रै सम्भावना रहेको चर्चा गर्दै उनले ‘कनेक्टिभिटी’लाई अझ विस्तार गर्न सकिने धारणा राखेका थिए । जलवायु परिवर्तनको असर दक्षिण एसियाको साझा समस्या रहेकोमा पनि उनले चिन्ता व्यक्त गरे । यस्तै यसका लागि सामूहिक रुपमा समस्या समाधान खोज्नु पर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ साउन २०७९, १५ : १७
लेखकबाट थप