उत्तर कोरियाः ‘तीन उच्चपदस्थ सैनिक हटाइए’

सोमबार, २१ जेठ २०७५, १२ : ३९
उत्तर कोरियाः ‘तीन उच्चपदस्थ सैनिक हटाइए’

उत्तर कोरियाली नेता किम जङ-अनले देशका तीनजना उच्चपदस्थ सैन्य अधिकारीलाई हालैका महिनामा पदबाट हटाएको बताइएको छ ।

समाचार संस्था रोयटर्स र अमेरिकी अधिकारीहरूका अनुसार हटाइएका सैन्य अधिकारीहरूको स्थानमा मध्यमार्गी र कान्छा अधिकारीहरूलाई ल्याइएको छ ।

पदबाट हटाइनेमा रक्षामन्त्री पाक यङ सिक, चिफ अफ जनरल स्टाफ र सेनाको राजनीतिक ब्यूरोका प्रमुख रहेका छन् ।

सैन्य अधिकारीहरूलाई हटाइएको बारेका समाचार दक्षिण कोरियाली र जापानी सञ्चारमाध्यममा आएको र नाम खुलाउन नचाहने अमेरिकी अधिकारीहरूले पनि त्यसको पुष्टि गरेका छन् ।

साम्राज्यवादी
अमेरिकी राष्ट्रपति ट्रम्पसँग निश्शस्त्रीकरणबारेको वार्तामा प्रवेश गर्न लागेका किमलाई आफ्नो सेनाभित्रबाट त्यसको विरोध हुन सक्ने डर छ ।

उत्तर कोरियालीहरूलाई अमेरिका 'साम्राज्यवादी शत्रु' भएको पढाउँदै आइएको छ ।

तर पछिल्लो समय उत्तर कोरियाली सञ्चारमाध्यम अमेरिकाप्रति नरम हुँदै गएको देखिन्छ र निश्शस्त्रीकरणसम्बन्धी वार्ताको चर्चा गर्ने गरिएको छ ।

केही दिनअघि मात्रै ट्रम्पले किमसँगको शिखर बैठक सिंगापुरमा जुन १२ तारिखमै हुने पुष्टि गरेका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस